ओलीसँग नयाँ ढंगले सोचेर अघि बढ्न सकिन्छ : माधव नेपाल
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २३ शनिबार
562
Shares
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमालेलाई जनताले विश्वास गरेर दिएको भोटको दुरुपयोग भएको बताएका छन् । नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले गल्ती स्वीकार गरेमा नयाँ ढंगले सोच्न सकिने संकेत पनि गरेका छन् ।
पार्टीले विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा बनेपामा आयोजना गरेको शुभकामना आदानप्रदान एवं जिल्ला कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीसँग सहकार्यको संभावना रहेको बताएका हुन् । तर उनले ओली सुध्रिने आश भने नराखेको बताए ।
प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको, पार्टीमा अपनाएको गलत तरिका, देशलाई राम्ररी हाक्न नसकेको र सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको जिम्मेवारी लिन ओली तयार भएमा नयाँ ढंगले सोच्न सकिने नेपालले बताए ।
नेपालले आफूहरु पुष्पलालको उत्तराधिकारी भएको पनि बताउँदै पुष्पलालले ‘कम्युनिष्ट पार्टीमा नेता हैन नीति र विचार प्रधान हुन्छ’ भन्ने सिकाउनुभएको र आफूहरूले त्यसलाई अनुशरण गरेको उनको दाबी थियो ।
कार्यक्रममा उनले आगामी निर्वाचनमा गठबन्धनमा रहेका पाँच दल नै जिल्ला–जिल्ला र पालिकामा गठबन्धन गर्नसक्ने बताए । विगतका सरकारले गरेका गल्ती नदोहोर्याउन र सहि ढंगले अघि बढ्न पनि उनले सरकारको ध्यानाकर्षण गराए ।