arrow

मध्यान्हमा किन बोलाए माधव नेपालले मन्त्री र असन्तुष्ट नेताहरुलाई एकैथलोमा ?  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
madhav-nepal-ncp-united-socialist.jpg
तस्वीर–फाइल ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्ना  केही नेताहरुसहित पार्टीबाट मन्त्री बनेकाहरुसँग छलफल गर्ने भएका छन् । आइतबार मध्यान्ह १२ बजे उनीहरुलाई पार्टी कार्यालयमा बोलाएर पार्टीका शीर्ष नेता र असन्तुष्ट रहेका सांसदलाई सँगै राखेर छलफल गर्ने भएका हुन् । 

अध्यक्ष नेपालले मध्यान्ह १२ बजे बानेश्वरको आलोक नगरस्थित पार्टी कार्यालयम बोलाएको महासचिव बेदुराम भुषालले जानकारी दिए । सरकारमा गएपछि नागरिकको पक्षमा काम गर्न, जनपक्षीय काम गर्न निर्देशन दिनका लागि अध्यक्ष नेपालले बोलाएको महासचिव भुषालले जानकारी दिए ।  

शनिबार अध्यक्ष नेपालले पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन निर्देशन दिएका थिए । पार्टीभित्र मन्त्री चयनमा केही असमझदारी देखिएपछि आइतबर भने उनीहरुलाई समेतसँगै राखेर मन्त्रीहरुलाई निर्देशन दिन लागिएको हो ।
 
एकीकृत समाजवादीका अध्यक्ष नेपालले शनिबार एक कार्यक्रममा गलत काम गरे मन्त्रीहरुलाई सरकारबाट हटाइने चेतावनीसमेत दिएका थिए । त्यसमा थप निर्देशन दिन आफ्नो पार्टीबाट मन्त्री भएकालाई आइतबार बोलाइएको बताइएको छ । 

वर्तमान सरकारमा एकीकृत समाजवादीबाट  ४ मन्त्री र १ राज्यमन्त्री सहभागी छन् । स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा, सहरी विकासमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममन्त्रीमा किसान श्रेष्ठले जिम्मेवारी पाएका छन् । यस्तै स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन् । 

सरकारमा सरला यादव, निरा जैरु, कल्याणी खड्का, मेटमणी चौधरी लगायतका सांसदहरु आकांक्षी भए पनि प्रेम आले र किसान श्रेष्ठले अवसर पाएकोमा असन्तुष्टि बढेको थियो ।

सांसद मेटमणी चौधरीले आफूसँग पैसा नभएकै कारण मन्त्री नभएको दुखेसो गरेका थिए । पार्टी विभाजन हुँदा श्रेष्ठ र आलेले आर्थिक सहयोग गरेको चर्चा चलेको थियो । श्रेष्ठ र आले दुवै यसअघि केपी शर्मा ओली क्याम्पमा थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ