काठमाडौं महानगरको आठ तल्ले कार्यालय भवनको शिलान्यास
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २५ सोमबार
510
Shares
फाइल तस्विर।
काठमाडौं। महानगरपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको शिलान्यास गरेको छ। सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निर्माणको शिलान्यास गरे ।
करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधा सम्पन्न भवन बन्न लागेको हो । काठमाडौं महानगरपालिकाको पहिचान तथा वास्तु शैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले बताएको छ । भवन भित्र नेवारी शैलीको चोकहरू रहने बताइएको छ ।
भवन संरचनामा प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्रशासन-कर्मचारी-आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागी आवश्यक स्थान छुट्टाइएको छ । विपद्को समयमा प्रयोग गर्न सकिने गरी आपत्कालीन मार्ग तथा सुरक्षित भर्याङ रहने बताइएको छ ।
भवनको शिलान्यास गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै महानगरपालिकाका वडाका कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिबद्धता अनुसार नै केन्द्रीय भवनको शिलान्यास गरेको बताए । महानगरको अहिलेको हरिभवनमा केन्द्रीय कार्यालय बनाउन विभिन्न अड्चन आएको कारणले सुनधारामा केन्द्रीय भवन बनाउन नसकेको बताए ।
उनले भने, 'आज केन्द्रीय भवनको यहाँ शिलान्यास भयो । उद्घाटन हाम्रो यो कार्यकालमा हुँदैन । तर, अहिले हामीले गरेका काम स्थानीय सरकारको जग हुन् ।' हरिभवनलाई बागदरबार भनेर विवाद झिक्दै त्यहाँ भवन निर्माण गर्न नदिएकोप्रति पनि गुनासो गरे । उनले राम्रो कामको सुरुवात गर्न समय सीमा नहुने भन्दै आफ्नै कार्यकालमा शिलान्यास हुँदा खुसी लागेको बताए । ‘रुख रोप्नु ठुलो कुरा हो,यो भवन हाम्रो यो कार्यकालमा सम्पन्न हुँदैन । त्यसैले हामीले रुख रोपेका हौँ । रुखको फल कसले खान्छ भन्ने ठुलो कुरा होइन ।”
महानगरका सेवाग्रहीले सेवा लिने ठाउँ सेवाग्राही मैत्री हुनुपर्छ भनेर नै सबै वडा भवन नेपाली परम्परागत शैलीको निर्माण गरिरहेको जानकारी दिए। महानगरको केन्द्रीय भवनसँगै वडा भवन निर्माण गर्दा परम्परागत मौलिकता संस्कृति झल्किने र बाहिरी स्वरूप एकै खालको हुने गरी निर्माण गरिरहेको पनि प्रमुख शाक्यले बताए ।
महानगरपालिकाको केन्द्रीय कार्यालय रहने भवन ९२ हजार ६८ वर्ग फुटको क्षेत्रफलमा रहने छ । भवनको जमिन तलादेखि सातौं तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुने छ भने आठौँ तलामा २ सय जना क्षमताको र १ सय जना क्षमताको छुट्टाछुट्टै २ हल निर्माण गरिने छ काठमाडौँ महानगरपालिकाले बताएको छ ।
भवन २०८० असोज मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालीले पाएको छ । भवन निर्माणको लागत ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रहेको छ ।