कास्की जीप दुर्घटनामा ज्यान गुमाउने ७ जना काठमाडौँका विद्यार्थी
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २५ सोमबार
937
Shares
काठमाडौँ। कास्कीमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेहरू काठमाडौँबाट घुम्न गएका विद्यार्थी रहेको पाइएको छ।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना काठमाडौँको गोङ्गबुबाट घान्द्रुक घुम्न गएका विद्यार्थी र एक जना जीप चालक रहेको प्रहरीले बताएको हो ।
पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जीप सोमबार अन्नपूर्ण गाउँपालिका १० मोदी खोलामा दुर्घटना भएको थियो । घटनामा परी ८ जनाको ज्यान गएको थियो। ज्यान गुमाउनेहरूमा जीप चालक अन्नपूर्ण गाउँपालिका ५ का ४२ वर्षीय खुसीमान क्षेत्री छन्।
यस्तै काठमाडौँबाट घुम्न गएका १८ वर्षीय जिनव घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुन चौधरी, २२ वर्षीय अच्युतम काफ्ले, १८ वर्षीय आशिष् आले र २७ वर्षीय विनय क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू सबै गोङ्गबु बस्ने गरेको खुलेको छ।
दुर्घटनामा २० वर्षीय देवीका घिसिङ भने घाइते भएकी छन् । उनी भीरमा अड्किएर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।