- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । सरकारले चैत महिनासम्म सम्पूर्ण नागरिकलाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाइसक्ने लक्ष्य राखेको छ । सो अनुसार असोज मसान्तसम्म ३३ प्रतिशत नागरिकहरूलाई खोप लगाइसक्ने लक्ष्य राखेको थियो ।
यद्यपि, असोज २९ गतेसम्म सरकारले लक्ष्यको झन्डै ३० प्रतिशत नागरिकलाई मात्रै खोप लगाएको छ । असोज महिना सकिन दुई दिन मात्रै बाँकी रहँदा सरकारले थप ३ प्रतिशत नागरिकलाई खोप लगाउन सक्ने सम्भावना कम देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले करिब २ करोड १८ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ । सरकारले सम्पूर्ण नागरिक भन्ने गरेको सङ्ख्या हो २ करोड १८ लाख ।
असोज २९ गतेसम्मको तथ्याङ्क हेर्दा ६४ लाख ६० हजार १ सय ५९ जनाले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । यो सङ्ख्या लक्ष्यको २९.७ प्रतिशत हो ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार असोज २७ गते २ हजार २ सय ७५ जनाले खोप लगाएका छन् । यस्तै असोज २८ गते ४ हजार ७ सय ८४ जनाले खोप लगाएका छन् । असोज २९ गते खोप लगाउनेको सङ्ख्या शून्य छ ।
दसैँको माहौल जारी रहँदा असोज ३० र ३१ गते पनि उल्लेख्य सङ्ख्यामा खोप लाग्ने सम्भावना भने न्यून देखिन्छ । यसो हुँदा सरकारले असोज मसान्तसम्म ३३ प्रतिशत नागरिकलाई खोप लगाउन सक्ने सम्भावना कम देखिन्छ ।
तत्कालीन स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठ एवं स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पटक पटक असोज मसान्तसम्म ३३ प्रतिशत नागरिकलाई खोप लगाउने बताएका थिए ।
असोज २९ गतेसम्मको तथ्याङ्क हेर्दा १ करोड ४८ लाख ५७ हजार ५ सय ६१ डोज खोप लगाइ सकिएको छ ।
स्वास्थ्य सेवा विभागका डा. उपेन्द्र ढुङ्गानाका अनुसार हालसम्म करिब १ करोड ८८ लाख डोज खोप नेपाल भित्रिएको छ ।