arrow

मधेस राजनीति

जसपा र लोसपाको तानातानले हैरान कार्यकर्ता

न नेतालाई दशैं लाग्यो न कार्यकर्ताले राम्रोसँग दशैं मनाउन पाए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १ सोमबार
jasapa-rajpa-thakur-yadav.jpg

काठमाडौं । दशैंको बेला पनि जनता समाजवादी पार्टी (जसपा) तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का  केन्द्रीय तहका नेताहरुलाई फुर्सद भएन । विशेष गरी प्रदेश २ जसपा र लोसपाको आधार भूमि हो । त्यसैले एक अर्काको कार्यकर्ता तानातान  गर्न  जसपा र लोसपाका शीर्ष नेताहरु अहिले प्रदेश २ मा केन्द्रीत भएका छन् । 

जसपाका अध्यक्ष उपेन्द्र यादव एक हप्तादेखि मधेसमै छन् । यादव अझै एक हप्तासम्म मधेसमै बस्ने कार्यक्रम रहेका यादवका सहयोगी महेश चौरासियाले जनाए । यसैगरी पार्टीबाट प्रतिनिधित्व गरेका ३ मन्त्री महेन्द्र यादव, रामसहाय यादव र रेणु यादव दशैंको बेला मधेसमा बसे । अहिले पनि उनीहरु आ–आफ्नो चुनावी क्षेत्रमा व्यस्त भएका छन् । 

दशैको बेला पार्टीका कार्यकर्ता तथा मतदाताहरु धेरैजसो घर फर्केका हुन्छन । यही बेला उनीहरुसँग भेटघाट तथा सम्पर्क गर्न मधेस केन्द्रित दलका नेताहरु मधेस गएका हुन् ।  केन्द्रमा पार्टी गठन भए पनि लोसपाका प्रदेश तथा जिल्ला समितिहरु अझै बनेका छैनन् । प्रदेश समिति तथा जिल्ला समिति बनाउन जसपाका स्थानीय नेताहरुलाई आफ्नो पार्टीमा प्रवेश गराउनु पर्ने वाध्यता लोसपाका नेताहरुलाई छ । 

जसपाका प्रदेश, जिल्ला तथा गाउँ समितिहरु पहिले नै बनिसकेका छन् । त्यसैले प्रदेश तथा जिल्ला समिति बनाउनु पर्ने बाध्यता जसपाका नेताहरुलाई छैन । तर आफूतिर आएका कार्यकर्ताहरुलाई लोसपामा जानबाट जोगाउन जसपाका नेताहरुलाई चुनौती थपिएको छ ।

सार्वजनिक पदमा नबसेका स्थानीय कार्यकर्ताहरुलाई एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्न कानूनी रुपमा कठिनाइ उत्पन्न हुँदैन । सार्वजनिक पद धारण गरेका कार्यकर्ताहरुलाई भने एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्न उनीहरुको सार्वजनिक पद गुम्ने खतरा हुन्छ ।  

लोसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु दशैको बेला मधेसमा बसे । अहिले पनि उनीहरु मधेसमै केन्द्रीत भएका छन् । लोसपाका नेता केशव झाका अनुसार दशैका बेला विभिन्न जिल्लामा स्थानीय तहमा विभिन्न कार्यक्रम भएका छन् । केही ठाउँमा पार्टी प्रवेश कार्यक्रम पनि राखिएका छन् । पार्टी प्रवेश कार्यक्रम जसपाबाट पनि भएका छन् । आगामी चुनावलाई केन्द्रीत गरेर दशैंको बेला संगठन विस्तार गर्ने काम भएको झाले  जनाए । 

जसपा र लोसपाका भोट बैंक एउटै हो । पार्टीका केन्द्रीय नेताहरु यता उता मात्र भएका हुन् । विशेष गरी पूर्व राष्ट्रिय जनता पार्टीमा सम्बद्ध भएका नेताहरु अहिले लोसपामा छन् भने पूर्व समाजवादीमा आवद्ध भएका नेताहरु अहिले जसपामा छन् । उनीहरु कहिले यता र कहिले उता जाने गरेका छन् । 



नयाँ