केही नेताहरू एमालेको घरमा दास बन्दै गएको झाँक्रीको आरोप
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १ सोमबार
734
Shares
तम्घास ।एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले जनतालाई धोका दिएर केही नेताहरू एमालेको घरमा दास बन्दै गरेको आरोप लगाएकी छन् ।तम्घासमा आयोजित एसको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको बताएकी हुन् ।
संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिए पनि केपी ओलीले संविधानलाई नै मिचेको उनको आरोप थियो । एउटा व्यक्तिको सनकको भरमा पटक-पटक संसद् विघटन गर्ने प्रथाको आफूहरूले विरोध गरेको उनको भनाइ थियो । यसो गर्दा ओलीको नजरमा आफूहरू नराम्रो भएकाले त्यहाँबाट निस्केर छुट्टै कम्युनिस्ट पार्टी स्थापना गरेको उनले बताइन् । अहिलेको कम्युनिस्ट पार्टीमा सबै अट्न सक्ने उनको जिकिर थियो । आफूहरूले लगातार निर्वाचन जिते पनि उपलब्धि धेरै नभएकाले अब परिणाम देखिने गरी काम गर्नुपर्नेमा उनले जोड दिइन् ।
फरक प्रसङ्गमा नेत्री झाँक्रीले आफूहरूले पार्टी निर्माणको तीन महिने अभियान चलाउने जानकारी दिइन् । तीन महिनासम्म देशभरबाट कम्तीमा सात लाख सङ्गठित सदस्य बनाउने उनको दाबी थियो । प्रत्येक सङ्गठित सदस्यले निर्वाचनमा परिवारको मात्रै पनि चार भोट ल्याए मात्रै देशभरबाट नेकपा (एकीकृत समाजवादी)को पक्षमा कम्तीमा २८ लाख भोट पार्टीलाई प्राप्त हुने र त्यसपछि नेकपा एमाले बिलाएर जाने उनले बताइन् ।
प्रत्येक सङ्गठित सदस्यले एक दिन पार्टीका लागि काम गर्ने र बाँकी छ दिन आफ्नो लागि काम गर्ने गरी योजना पार्टीले बनाएको उल्लेख गर्दै उनले पार्टीको हरेक कमिटीमा कम्तीमा ५० प्रतिशत महिला र ४० प्रतिशत ३० वर्षमुनिका युवालाई समावेश गरिने बताइन् ।