arrow

विपद् अपडेट : मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो, ३१ बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
mahakali-river-kanchanpur.jpg

काठमाडौँ। मनसुन सकिएपछि देशभर परेको बेमौसमी वर्षका कारण आएको बाढी तथा पहिरोमा परी देशभर ४८ जनाको ज्यान गएको छ।

गत शनिवार अपराह्नबाट देशका विभिन्न स्थानमा परेको वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी बुधवार १२ बज्दासम्मको विवरण अनुसार देशभर ४८ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको हो।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार वर्षाको असर देशको पश्चिमी क्षेत्र र पूर्वी क्षेत्रमा बढी देखिएको छ।  वर्षाका कारण आएको बाढी पहिरोमा परेर ३१ जना बेपत्ता भएको केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ। बेपत्ता हुनेमा सबै भन्दा बढी बझाङका २३ जना छन्।

यस्तै हालसम्म प्राप्त विवरण अनुसार देशभर २३ जना घाइते भएको केन्द्रले बताएको छ।

डोटीमा पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। डोटीको शिखर नगरपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिकामा गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको हो।

यसै गरी हुम्लाको खार्पुनाथ गाउँपालिका ५ खरेल भन्ने स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । त्यहाँ बेपत्ता भएका दुई जनाको पनि मृत्यु भएको पुष्टि भएको हो।

यस्तै बैतडीमा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन्।

यस्तै पाँचथरमा पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने ६ जना नै घाइते भएको गृह मन्त्रालयले जनाएको छ।

यस्तै इलाममा पहिरोका कारण ११ जनाको मृत्यु भएको छ। त्यहाँ ५ जना बेपत्ता र २ जना घाइते छ।

यसै गरी धनकुटामा पनि ६ जनाको मृत्यु भइसकेको छ भने ६ जना नै घाइते छन्। धनकुटाको चौविसे गाउँपालिका-१, गेडेरेमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको हो। घरभित्र रहेका १२ जनामध्ये ६ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। थप खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

उदयपुरमा बाढीले एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका-५, खोरिया खोला तर्ने क्रममा ४० वर्षीया टुकबहादुर खड्कालाई बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसै गरी सुनसरीमा १, प्युठानमा १, डडेलधुरामा १ र कालिकोटमा पनि १ जनाको बेमौसमी वर्षाका कारण आएको बाढी तथा पहिरोमा परेर ज्यान गएको हो।

कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली, मोरङ लगायतका जिल्लामा पनि बेमौसमी वर्षाको असर देखिएको गृह मन्त्रालय अन्तर्गतको केन्द्रले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ