- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। सरकारले अविरल वर्षाका कारण आएको बाढी तथा पहिरो कारण घर क्षति भएका परिवारलाई घर बनाउन ३ देखि ५ लाख दिने भएको छ।
केही बेरअघि सम्पन्न मन्त्रीपरिषद् बैठकले विपद्बाट क्षति पुगेका घरको पुनर्निर्माण लागि सहयोग रहौँ उपलब्ध गराउने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए।
यसअघि आजै बिहान बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणको बैठकले तत्काल अस्थायी आवास निर्माणका लागि ५० हजार दिने निर्णय गरेको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरणको बैठकले विगत केही दिनदेखि परिरहेको वर्षाका कारण क्षति भएका घरको यकिन विवरण सङ्कलन गर्ने निर्णय पनि गरेको थियो।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बैठकले तत्कालै अस्थायी आवास निर्माणका लागि ५० हजार प्रति परिवार उपलब्ध गराउने निर्णय गरेको र हालसम्म प्राधिकरणलाई विगत तीन दिनमा २० घरमा क्षति पुगेको विवरण प्राप्त भएको जानकारी दिए।
घर क्षति भएर खाद्यान्न तथा लत्ता कपडाको समस्या भएकाहरु लाईसमेत प्रतिपरिवार १५ हजार देखि २० हजार तत्कालै दिइने छ।
प्राधिकरणले गत वर्ष नै बनाएको कार्यविधि अनुसार विपद्जन्य प्रकोपबाट घर क्षति भएमा घर बनाउनका लागि हिमाली जिल्लामा ५ लाख, पहाडी जिल्लामा ४ लाख र तराइका जिल्लामा ३ लाख दिने उल्लेख छ।
यस्तै घर बनाउने स्थान नै असुरक्षित भएमा र अन्यत्र सर्नु पर्ने भएमा थप ३ लाख दिने प्राधिकरणले बनाएको कार्यविधिमा व्यवस्था छ।
सरकारले विपद्बाट धान बालीसहितका कृषि बालीमा पुगेको क्षति यकिन गरी कृषकलाई क्षतिपूर्ति उपलब्ध गराउनेसमेत निर्णय गरेको छ।
यस्तै उद्धार र राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ।