arrow

डुबानमा परेकाको सशस्त्रद्वारा उद्धार, झापामा मात्रै ६६१ जनालाई सुरक्षित स्थानमा (फोटोफिचरसहित)

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
APF-rescue-flood-2078-kartik.jpg

काठमाडौँ। झापा जिल्लाको विभिन्न ठाउँहरूमा अविरल वर्षासँगै आएको बाढीले डुबानमा परेका करिब २ सय घरपरिवारका ६६१ जनालाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणसहित सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटबाट सशस्त्र प्रहरी सो उद्धारमा सक्रियताका साथ जुटेको हो। यसै गरी कैलाली जिल्लाको भजनी नगरपालिका ७ स्थित हिक्मतपुर स्थित मोहना नदीमा पानीको बहाव बढेर करिब ७५ घरधुरी डुबानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट हिक्मतपुरबाट खटिएको सशस्त्र प्रहरी उनीहरूको उद्धार कार्यमा सक्रियताका साथ जुटेको हो।

यसै गरी सुनसरी जिल्लाको बर्जू गाउँपालिका ३ फरामचोकस्थित करिब ५० घर डुबानमा परेपछि सो ठाउँमा बसोबास गर्ने अन्दाजी २०० जनालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट अमदुवाबाट खटिएको सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

यसै गरी कञ्चनपुर जिल्लाका बेलौरी नगरपालिका २ स्थित खैरेनीमा बाढीले ३ वटा घरहरू डुबानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट थापा चोकबाट खटिएको सशस्त्र प्रहरीले डुबानमा परेका व्यक्तिहरू लाई सुरक्षित स्थानमा सारेको छ ।

यसै गरी कैलाली जिल्लाको गोदावरी नगरपालिका ८ स्थित खुटिया खोलाको बिचमा फसेको अवस्थामा दुई जनाको सशस्त्र प्रहरीले कात्तिक १ गते सकुशल उद्धार गरेको छ ।

सोही नगरपालिका ९ बस्ने ४५ वर्षीय मान बहादुर थापा र ४२ वर्षीया रेणु थापा उक्त खोलामा ढुङ्गा गिट्टी सङ्कलन गर्ने क्रममा खोलाको बिचमा फसेको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ गण कैलालीबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो । 

त्यस बेला सोही नगरपालिका ८ बस्ने ३० वर्षीय गणेश औजी भने उक्त खोलाले बगाएर बेपत्ता भएको बताइएको छ । यसै गरी डडेलधुरा जिल्लाको परशुराम नगरपालिका ४ स्थित रंगुन खोलाको बिचमा फसेका ५ जनाको सशस्त्र प्रहरीले कात्तिक २ गते सकुशल उद्धार गरेको छ ।

सोही ठाउँ बस्ने ५ जना व्यक्तिहरू धान काट्न खेतमा जाने क्रममा सो खोलामा पानीको बहाव बढ्न गई खोलाको बिचमा अलपत्र परेको भन्ने जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट पर गाउँबाट खटिएको सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले ट्युबको प्रयोग गरी उनीहरूको सकुशल उद्धार गरेको हो।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ