arrow

अल्झियो कांग्रेस महाधिवेशन

देउवाको प्राथमिकता कता ? ‘संविधानअनुसार चल्ने कि ब्याक गियर लाग्ने टुंगो लगाउनु पर्छ’ –आचार्य 

‘मोफसलको कांग्रेसीले कांग्रेस जोगाइदिनु पर्ने ? यहाँ शेरबहादुर जी र शशांक जीले जे गरे पनि हुने ? उनीहरुले विधि विधान, संविधान मान्नु नपर्ने, अनि फेरि नेतृत्व खोज्ने ?’

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
congress-14th-convention-719.jpg

काठमाडौं । नेपाली कांग्रेस ६४ जिल्लामा वडा अधिवेशन सकेर निदाएको छ । १३ जिल्लामा वडा अधिवेशन नै बाँकी छ । अझै केही जिल्लामा त क्रियाशील सदस्यताको विवाद नै टुंगिएको छैन । 

पूर्व निर्धारित कार्यतालिकालाई पटक पटक संशोधन गर्दै आइरहेको कांग्रेसले तोकिएको समयमा कार्यतालिका अनुसारका अधिवेशन नभएपछि फेरि केन्द्रीय महाधिवेशनको मिति नै सार्ने कोसिस गरिरहेको छ । गत ३० साउनमा बसेको केन्द्रीय कार्यसमिति बैठकमार्फत कांग्रेसले पछिल्लो पटक महाधिवेशनको कार्यतालिका हेरफेर गरेको थियो । 

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ताको किचलो र मन्त्रीपरिषद् विस्तारमा समय लागेपछि पार्टीका काममा समय दिन सकेका छैनन् । कहिले दल विभाजन अध्यादेश किचलो त कहिले सोही अध्यादेश फिर्ता गर्नु पर्ने गठबन्धनकै अडानका कारण सरकार विस्तार ढिला हुँदा प्रधानमन्त्री देउवा पार्टीका काममा भन्दा बढी सरकार र गठबन्धनका काममा अल्झँदै आएका थिए । 

जसका कारण कांंग्रेसले अझै पनि १३ जिल्लामा वडा अधिवेशन नै शुरु गर्न सकेको छैन । १३ जिल्लामा वडा अधिवेशन नहुँदा महाधिवेशनको पूर्व निर्धारित मिति प्रभावित भइसकेको छ । 

निर्धारित मितिमा अधिवेशन हुन नसक्दा प्रदेश अधिवेशन र केन्द्रीय अधिवेशनका लागि तय मितिसमेत संशोधन गर्ने तयारी भइरहेको छ । प्रदेश अधिवेशन मंसिर पहिलो साता गर्ने गरी तयारी भइरहेको छ । 

कांग्रेस राजनीतिलाई लामो समयदेखि नजिकबाट नियाल्दै आइरहेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पार्टीको सभापति पद नै भारी भइरहेका देउवालाई प्रधानमन्त्री बनाउँदा कांग्रेस जस्तो पार्टीको परिचयलाई नै पुनर्परिभाषित गर्नु पर्ने अवस्था आएको बताए । 

‘कांग्रेसको आफ्नै विगत छ, इतिहास छ, सिद्धान्त, मुल्य मान्यता र लोकतान्त्रिक छवि छ, तर अहिले कांग्रेसले आफ्ना पुराना सिद्धान्त र मुल्य मान्यतालाई फेरि परिभाषित गर्ने समय आयो, किनभने सभापति पद नै भारी भएका देउवाजीलाई प्रधानमन्त्री बनाउँदा कांग्रेसलाई फेरि पुनर्परिभाषित गर्नुपर्ने अवस्था आएको छ’ राजनीतिक विश्लेषक आचार्यले हाम्राकुरासँग भने । 

उनले देशको संविधान र पार्टीको विधान मान्न नसक्ने र सो अनुसार चल्न नसक्ने नेतृत्वले पुनः कांग्रेसको नेतृत्व दाबी गर्नुसमेत हाँस्यास्पद भएको बताए । 

आचार्यले अघि भने, ‘मोफसलको कांग्रेसीले कांग्रेस जोगाइदिनु पर्ने ? यहाँ शेरबहादुर जी र शशांक जीले जे गरे पनि हुने ? उनीहरुले विधि विधान, संविधान मान्नु नपर्ने, अनि फेरि नेतृत्व खोज्ने ?’

आचार्यले कांग्रेसका नेताहरुमा संविधानले प्रष्ट गरेको विषयमासमेत एकरुपता नभएको बताए । ‘संविधानले संघीय राज्य भन्छ, केही कांग्रेस नेता फरक धारणा दिन्छन्, संविधानले धर्म निरपेक्षता भन्छ, केही नेताका धर्म निरपेक्षताका विषयमा पनि फरक मत देख्छु, यो कांग्रेसको पद्धति नै होइन’, आचार्यले थपे । 

उनले कांग्रेसले आगामी महाधिवेशनबाट संविधानअनुसार चल्ने कि ब्याक गियर लाग्ने भन्ने विषय टुंगाउने पर्ने बताए । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले प्रदेश र केन्द्रको पूर्व निर्धारित मिति हेरफेर गर्दै १४औँ महाधिवेशनको कार्यतालिका फेरि संशोधन गर्ने तयारी भएको बताउँदै आइरहेका छन् । 

यादवले १३ जिल्लामा अझै पनि वडा अधिवेशन शुरु नभएकाले प्रदेश अधिवेशन र मंसिरका लागि तोकिएको महाधिवेशन केही दिन सर्ने अवस्था सृजना भएको बताएका हुन् । कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न नसकेपछि ती जिल्लाहरूमा त्यसपछिका तहका अधिवेशन हुन सकेको छैन ।

पछिल्लो पटक निर्धारित कार्यतालिका अनुसार कांग्रेसको वडा अधिवेशन १८ भदौ, गाउँ–नगर अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख थियो ।

यसै गरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिकदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मङ्सिरसम्म काठमाडौँमा हुने उल्लेख छ । यीमध्ये धेरैजसो तालिका प्रभावित भइसकेको छ । हालसम्म काँग्रेसले ६४ जिल्लामा मात्रै वडा अधिवेशनसम्म सम्पन्न गरेको छ । 

निर्वाचन समितिले केही हिमाली जिल्लामा भने जिल्ला अधिवेशनसमेत सकाएको छ । कांग्रेसले २१ हिमाली जिल्लामा भने कार्यतालिकालाई नघाएर भए पनि जिल्ला अधिवेशन शुरु गरेको थियो । २१ हिमाली जिल्लामा दशैंअघि नै जिल्ला अधिवेशन गर्ने भनिए पनि १३ जिल्लामा मात्रै सकिएको छ ।

प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, बाँके र कैलालीमा वडा अधिवेशन बाँकी छ । कांग्रेसले अझै रसुवा, रौतहट र बारा जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छैन ।



नयाँ