arrow

राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वयात्मक रूपमा अघि बढ्न राष्ट्रपतिको आग्रह

logo
रासस
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
Bidhya-bhandari-parmanikarn.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हालैको अविरल वर्षाका कारण  मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले भएको जनधनको ठुलो क्षतिप्रति दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेकी छन् ।

राष्ट्रपतिले प्रकोपपीडितको उद्धार तथा व्यवस्थापन, घाइतेको उपचार, राहत वितरण र बेपत्ता भएकाको खोजीमा राज्यका संयन्त्रलाई परिचालन गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्नेछ भन्ने विश्वास व्यक्त गरेकी छन् । 

यसै गरी प्रकोपबाट कृषि क्षेत्र खास गरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशका सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रूपमा अघि बढ्न राष्ट्रपतिले आग्रह गरेको राष्ट्रपतिको कार्यालयले आज अपराह्न जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखका यस अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक सङ्घसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितको उद्धार तथा राहतमा संलग्न हुन राष्ट्रपतिले आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  । 

साथै भविष्यमा आइपर्ने यस प्रकारका प्राकृतिक प्रकोपबाट बच्न सम्बद्ध सबै पक्षले सावधानी अपनाउनुपर्नेमा पनि उनले जोड दिएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ