- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । भ्रष्टाचार गरेको भन्दै नेपाल खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका कार्यालय प्रमुख राजेश्वर कुशवाहालाई कालो मोसो दलेर नगर परिक्रमा गराइएको छ । बिहीबार डा. सिके राउतको पार्टी जनमत पार्टीका कार्यकर्ताले प्रमुख कुशवाहालाई कालो मोसो र हिलो दलेर जनकपुरधाम नगर परिक्रमा गराएका छन् ।
जनमत पार्टीले जनकपुरधाम उपमहानगरपालिका मेयरलाई कालो मोसो र हिलो दलेर नगर परिक्रमा गराउने कार्यक्रम राखेको थियो । तर, नगरप्रमुख भागेपछि नेपाल खानेपानी तथा ढल निकास कार्यालयका प्रमुखलाई नगर परिक्रमा गराएको हो।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरूले जनकपुरधाम स्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन विभागका निम्ति प्रमुखलाई जनकारवाही भन्दै जिउ भरी हिलो दलेर नगरमा घुमाएका छन् । जनमत पार्टीले जनकपुरधामको केही स्थानमा ढल निकासको काम समयमै हुन नसक्दा स्थानीयवासीले खानेपानी तथा हिँडडुलमा समेत समस्या भएको भन्दै तुरुन्त समस्या समाधान गर्न विभागको युनिट कार्यालय जनकपुरधाममा ज्ञापन पत्र बुझाएको थियो ।
तर काम नभएपछि ध्यानाकर्षण गराउन आज पुनः कार्यालय पुगेका उनीहरूलाई कार्यालयका निम्ति प्रमुख राजेश्वर कुशवाहले भरपर्दो जवाफ दिन नसकेपछि उनीहरूले जनकारवाही गरेको बताए।
प्रेस जनमत सङ्घका केन्द्रीय अध्यक्ष बिपी साहका अनुसार नेपाल खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका कार्यालयले भ्रष्टाचार गरेकाले जनकारवाही गरिएको बताए । तराई मधेसमा भ्रष्टाचार व्यापक रूपमा बढिरहेको भन्दै त्यसलाई राज्यको तर्फबाट नियन्त्रण हुन नसकेपछि आफूहरू कारबाहीका लागि उत्रिएको जनमत पार्टी का एक नेता ले जानकारी दिए।
भ्रष्टाचारी र अत्याचारीका नाइकेहरू सप्तरी, धनुषा तथा सर्लाही लगायतका जिल्लातिर नै घुमिरहेको भन्दै उनले सबैलाई यसरी नै कारबाही गरिने बताए । जनमत पार्टीले त्यस्ता भ्रष्टाचारीलाई जहाँ पायो त्यहीँ समातेर नगरपालिकाको ढल, बाढी, हिलो र कटानमा हिँड्न लगाइने समेत उनले बताए ।
यता,नेपाल खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुखलाई कुटपिट गरी दुर्व्यवहार गर्ने जनमत पार्टीका १५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । निमित्त कार्यालय प्रमुख राजेश्वर कुश्वाहालाई कुटपिट गरी दुर्व्यवहार गरेको भन्दै पक्राउ गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए।
प्रहरीले नियन्त्रणमा लिएपछि जनमत पार्टीका कार्यकर्ताहरू जिल्ला प्रहरी कार्यालयअगाडि नाराबाजीमा उत्रिएका छन् । बास्तोलाले जनमत पार्टीका कार्यकर्ताहरू भूमिगत शैलीमा कार्यालयभित्र छिरेर कुश्वाहालाई दुर्व्यवहार गरेको बताए। कार्यालय प्रमुखमाथि दुर्व्यवहार गरेर गलत हर्कत गर्नेहरूमाथि कारबाही हुने उनले बताए।