- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डडेल्धुरा । सुदूरपश्चिमका पहाडी जिल्ला डोटी र बझाङ पुगेर गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र पहिरापीडितका लागि चाँडै राहतको व्यवस्था गर्ने बताएका छन् ।
आइतबारदेखि लगातार परेको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न जिल्लामा धेरै धनजनको क्षति भएको छ भने सडक, बाटोघाटोका साथै पाक्नै लागेका धानबाली र अन्य पशुचौपायाका साथै अन्नबालीसमेत नष्ट गरेको छ । सुदूरपश्चिममा यसै साता भएको वर्षाले भएको क्षतिको विवरण लिन अर्थमन्त्रीसहितको भ्रमणमा प्रभावित जिल्ला पुगेका प्रधानमन्त्री देउवालाई स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, पत्रकारहरुले जिल्लाका समस्याका बारेमा कुरा राखेका थिए ।
तीन दिनको अविरल वर्षाका कारण जिल्लामा दुई जनाको पहिरामा परी ज्यान गएको छ भने दर्जनभन्दा बढी मानिस घाइते भएको जिल्ला समन्वय प्रमुख गणेशराज भट्टले प्रधानमन्त्री देउवालाई जानकारी गराए । प्रधानमन्त्री भएपश्चात् पहिलोपटक गृहजिल्ला आउनुभएका प्रधानमन्त्री देउवाले प्राकृतिक घटनाबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले मृतक र घाइते परिवारका साथै धनजनको क्षति भएका परिवारलाई चाँडै राहतको व्यवस्था गर्ने बताए ।
सुदूरपश्चिम अवलोकन भ्रमणमा रहेका प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा पुगी आजै कञ्चनपुरका लागि निस्कनुभएको छ । बाढी–पहिरो प्रभावित क्षेत्र बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुङ्गाड निरीक्षणपछि उन गृहजिल्ला डडेल्धुरा आइपुगेका हुन् । रासस