arrow

बाढी पहिरोको निरीक्षणपछि प्रधानमन्त्री देउवाले भने : गुरुयोजना बनाएर पीडितलाई सम्बोधन

logo
रासस,
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
pm-deuba-kanchanpur--kartik-04-2078.jpg
प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा कञ्चनपुरको दोधारा चादँनीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै। तस्बिर : शेरबहादुर सिंह

महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिराबाट भएको क्षति र पीडितलाई सम्बोधन हुने गरी गुरुयोजना बनाएर अघि बढ्ने बताएका छन् । बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा आज साँझ कञ्चनपुरको दोधारा-चाँदनी पुगेका प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाढी र पहिराबाट नराम्ररी प्रभावित भएको बताए ।

“बाढी र पहिराले यहाँको अवस्था नै दयनीय बनाइदिएको मैले निरीक्षणका क्रममा पाए”, उनले भने, “निरीक्षणपछि काठमाडौँ फर्किएर गुरुयोजना बनाएर सम्बोधन गरिनेछ ।” उनले आफू निरीक्षणका क्रममा यहाँ बाढी र पहिराले पुर्‍याएको क्षति देखेर दुखित भएको बताए ।

प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटन मन्त्री प्रेम आले, पूर्व मन्त्री रमेश लेखक, नारायणप्रकाश साउद र वीरबहादुर बलायर सहभागी थिए । प्रधानमन्त्रीले डोटी, बझाङ, बैतडी, डडेलधुरा हुँदै बाढीको क्षति र अवस्थाबारे आज साँझ कञ्चनपुर पुगेर स्थलगत जानकारी लिएका हुन् । उनले कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रमा हवाई निरीक्षणसमेत गरेका थिए।

सुदूरपश्चिममा बाढी र पहिराका कारण ३१ जनाको मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता र १७ जना घाइते भएका छन् । पहिराले सडकमा क्षति पुगेपछि पहाडी जिल्लाको यातायात सेवा अझै निर्बाध रूपमा सञ्चालन नहुन सकेको छैन । 

कञ्चनपुरमा महाकाली नदीमा आएको बाढीले भीमदत्त नगरपालिका-९, ११, १२ र १३ र दोधारा-चाँदनीमा क्षति पुर्‍याएको थियो । त्यसै गरी बाढीले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बनिरहेको छ लेनको पहुँच मार्गको केही भाग कटान गरेको छ । बाढीबाट विस्थापित अझै घर फर्किसकेका छैनन् । पीडित विद्यालय, सार्वजनिक स्थान र आफन्तकामा आश्रय लिइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ