arrow

बङ्गलादेशमा हिन्दुमाथिको आक्रमणको विरोध गर्दा काठमाडौँमा पक्राउ

राष्ट्रिय एकता अभियानका ४१ अभियानकर्मी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
bangladesh ambassador-protest-letter.jpg

काठमाडौँ। राष्ट्रिय एकता अभियानले आफ्नो संस्थासँग आबद्ध अभियन्ता पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साहले प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय संयोजक विनय यादवसहित ४१ जना अभियन्तालाई पक्राउ गरी प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएकी हुन्।

बङ्गलादेश, पाकिस्तान तथा विभिन्न राष्ट्रहरूमा मन्दिर तथा हिन्दु आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनालाई लिएर विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले अभियानको नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको हो।

उपाध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बङ्गलादेश र पाकिस्तानको सरकारसँग जिहादी आक्रमणकारीहरू विरुद्ध कठोर कदम चाल्न माग गर्दै बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाको पुतला दहन तथा प्रदर्शन गरिरहेको बखत अभियानका केन्द्रीय संयोजकसहित ४१ जना नेता, कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको घटना निन्दनीय रहेको छ।’

बङ्गलादेशमा भएको घटनाले नेपालको सम्पूर्ण हिन्दु समुदायको आस्थामाथि चोट पुर्‍याएको अभियानकी केन्द्रीय उपाध्यक्ष शाहले बताइन्। बङ्गलादेशमा हिन्दुहरूले आयोजना गरेको पूजा स्थलमा सङ्गठित रूपमा हमला गरिएको घटनाविरुद्ध प्रदर्शन गर्नु कुनै अपराध नभएको जारी विज्ञप्तिमा उल्लेख छ।

तसर्थ प्रदर्शनको क्रममा पक्राउ परेका अभिनाक केन्द्रीय संयोजक यादवसहितका नेता कार्यकर्ताहरूलाई तत्काल रिहा गर्न अभियानले माग गरेको छ। अभियानका नेता तथा कार्यकर्ताहरूलाई तत्काल रिहा नगरे चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने उपाध्यक्ष शाहले बताइन्।

यसअघि बङ्गलादेशमा मन्दिर तथा हिन्दु आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनाको निन्दा गर्दै अभियानका केन्द्रीय संयोजक यादव नेतृत्वको टोलीले नेपालका लागि बङ्गलादेशी राजदूत सालाऊदीन रमन चौधरी मार्फत प्रधानमन्त्री हसिना समक्ष आक्रमणकारीहरूविरुद्ध कठोर कदम चाल्न ज्ञापन पत्र बुझाएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ