arrow

क्रिकेट राजनीति

भारत–पाकिस्तान २०४५ दिनपछि टी–२० क्रिकेटमा आमने सामने, कसले जित्ला ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
India-pakistan.jpeg

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो ३ः४५ बजे श्रीलंका र बंगलादेश खेल्दैछन् । पहिलो चरणको समूहको शीर्ष स्थानमा रहेर श्रीलंका र उपविजेता भएर बंगलादेश सुपर १२ मा प्रवेश गरेको थियो । 

दोस्रो खेलमा बहुचर्चित भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । समूह २ मा रहेका भारत र पाकिस्तानबीचको खेल बेलुकी ७ः४५ बजे दुबईको मैदानमा शुरू हुनेछ । यो खेललाई केबल क्रिकेट खेलका रुपमा मात्र लिइँदैन । भारत र पाकिस्तानबीच पहिलेदेखि नै तनाव हुँदै आएको छ । 

छिमेकी राष्ट्रहरु भए पनि सीमाविवाद नै यी दुई देशको प्रमुख कारक बन्दै आएको छ । राजनीतिक तनाव कम गर्न खेलले सेतुको काम गर्ने भए पनि यो सूत्र भारत र पाकिस्तानबीचको खेलमा लागू हुँदैन । 

यो अर्थमा पनि भारत पाकिस्तानबीचको खेललाई विश्वमै निकै व्यग्रताका साथ चासो दिएर हेर्ने गरिन्छ । तसर्थ यो खेललाई जित हार भन्दा पनि प्रतिष्ठाको लडाइँका रुपमा लिने गरिन्छ । 

सकभर एक अर्का विरुद्ध खेल्न नपरे हुँदो हो भन्ने मानसिकताबाट गुज्रिएका दुवै देशले आईसीसी र एसीसीको प्रतियोगिता बाहेक एक अर्काविरुद्ध खेल्ने गरेका छैनन् ।

सन् २०१९ को एकदिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । 

टी–२० त साढे ५ वर्षपछि हुँदैछ । पछिल्लो समय सन् २०१६ को विश्वकपपछि पहिलो पटक भारत र पाकिस्तान भिड्दै छन् । 

सन् २०१६ को विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो । २०१९ को एकदिवसीय विश्वकपमा समेत भारत विजयी भएको थियो।

टी–२० मा ५ वर्ष ७ महिना ५ दिनपछि अर्थात् २ हजार ४५ दिनपछि पहिलो पटक भारत र पाकिस्तान भिड्दै गर्दा थुप्रै खेलाडीहरु हेरफेर भएका छन् । हेड टु हेडमा ८ खेल भएकामा भारतले ६ खेल जितेको छ भने १ खेल पाकिस्तानले जितेको छ । एक खेल टाइ भएको छ । 

एक दिवसीय र टी–२० गरी भारतले पाकिस्तानलाई लगातार १२ खेलमा हराएको छ । भारतले १३ खेल लगातार जित्ने अवसर खोजेको छ । पाकिस्तान भने टी–२० विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्यमा रहेको छ । 

भारतका लागि कप्तान विराट कोहली, हार्दिक पान्डेया र सूर्यकुमार यादव प्रमुख ब्याट्सम्यानका रुपमा उत्रने देखिन्छ । पाकिस्तानका लागि मोहम्मद रिजवान, बाबर आजम र मोहम्मद हफिज प्रमुख खेलाडीको रुपमा उत्रने छन् । 

त्यस्तै बलिङतर्फ शार्दूल ठाकुर, भुवनेश्वर कुमार र राहुल चाहरले भारतीय लाइन सम्हाल्ने देखिन्छ भने पाकिस्तानका तर्फबाट हारिस रउफ, हसन अली र शाहीन अफ्रिदी उत्रने छन् । 

कस्तो होला पिच ? 
हालै सम्पन्न इन्डियन प्रिमियर लिग आईपीएलको पिचलाई आधार मान्ने हो भने दुबईको उक्त मैदानमा १५० देखि १७० रनको बीचमा औसत रन बन्दै आएको छ । 

आईपीएलको यो सिजनमा १३ खेल खेलिएको थियो । जसमा ९ खेलमा दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टिमले जितेको छ । पहिले ब्याटिङ गर्ने टिमले ४ पटकमात्र जितेको छ । 

यस अर्थमा टस जित्ने टिमको भूमिका महत्वपूर्ण हुन्छ । सम्भवतः टस जित्नेले पहिले फिल्डिङ गर्न चाहन्छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ