arrow

सर्लाहीको नवलपुरमा बन्यो नयाँ सबस्टेसन, चुहावट घट्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
sarlahi-substation.JPG

काठमाडौँ । सरकारको लगानीमा नेपाल विद्युत् प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा १३२-३३ केभीको सबस्टेसन निर्माण गरेको छ ।

सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन शनिवारबाट सञ्चालनमा ल्याइएको छ । सबस्टेसन शनिवार चार्ज गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएसँगै सर्लाहीको विद्युत् आपूर्ति विश्वसनीय हुने र प्राविधिक चुहावट घट्ने बताए ।

‘सर्लाहीमा अहिले ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत् आपूर्ति भइरहेको थियो, ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत् आपूर्तिमा समेत अवरोध हुँदै आएको थियो’, कार्यकारी निर्देशक घिसिङले भने ।

‘अब नवलपुर सबस्टेसनबाट सिधै विद्युत् आपूर्ति हुने भएकोले लाइन छोटो हुँदा चुहावट घट्छ, विद्युत् आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बन्ने छ, सर्लाहीमा खुल्ने उद्योगहरूलाई पर्याप्त विद्युत् दिन सकिने छ ।’

पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट नवलपुर सबस्टेसनमा विद्युत् आपूर्ति दिइने छ ।  सबस्टेसनमा १३२-३३ केभी, ६३ एमभिए र ३३-११ केभी, १६ एमभिए क्षमताका दुई वटा  ट्रान्सफर्मर राखिएको छ । यही सब स्टेसनमार्फत सर्लाहीका हरिपुर र मलंगवा ३३-११ केभी वितरण सबस्टेसनहरुमा विद्युत् आपूर्ति दिइने छ ।

सब स्टेसनको प्रारम्भिक काम आर्थिक वर्ष (आव) २०७४-७५ र मुख्य निर्माण आव २०७५-७६मा सुरु गरिएको थियो । कोभिड-१९को महामारी कारण उपकरणहरू ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको सबस्टेसन आयोजनाका प्रमुख निरञ्जन साहले बताए ।

सब स्टेसनको निर्माणको ठेक्का पावर टेक, भारत र वाइबा इन्फ्राटेक, नेपालको संयुक्त उपक्रम (जेभी)ले पाएको थियो ।



नयाँ