arrow

विद्युत् प्राधिकरणले पायो अरुण ४ जलविद्युत आयोजनाको लाइसेन्स

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
Arun-Third.jpg.jpeg

काठमाडौं । सरकारले अरुण नदीमा पहिचाहन भएको ४९०.२ मेगावाटको अरुण-४ अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सर्भेक्षण अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा पर्ने आयोजनाको लाइसेन्स प्राधिकरणलाई दिने निर्णय गरेको हो । विद्युत विकास विभागले आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन गरिसकेको छ । प्राधिकरणले आयोजनाको लाइसेन्सका लागि विद्युत विभागमा गत २९ भदौमा आवेदन दिएको थियो ।

प्राधिकरणले आयोजनाको लाइसेन्स सोमबार प्राप्त गरेको छ । अरुण-४ प्राधिकरणले निर्माण गर्न लागेको  निर्माण गर्न लागेको १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको विद्युतगृहभन्दा तल्लो भागमा पर्दछ । अरुण-४को लाइसेन्स पाएसँगै अरुण नदीमा प्राधिकरणले १ हजार ५ सय  ५१ मेगावाटका दुई वटा आयोजनाहरु एक साथ अगाडि बढाउने छ ।  

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण र अरुण-४ गरी १ हजार ५ सय ५१ मेगावाटको आयोजनाको निर्माण समानान्तर रुपमा ‘जनताको जलविद्युत कायक्रम’अन्तर्गत अगाडि बढाइने बताए । ‘अरुण-४ को लाइसेन्स पाउनु प्राधिकरणका लागि ज्यादै खुसीको कुरा हो, माथिल्लो अरुण र अरुण-४ आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण तथा लगानी मोडालिटी एक-डेढ वर्षभित्रमा टुङ्ग्याएर अगाडि बढाउँछौं’, घिसिङले भने । 

‘आयोजनाबाट प्राप्त हुने लाभ आम नागरिकलाई पनि उपलब्ध गराउन सर्वसाधारणले पनि सेयर खरिद गरी आयोजनामा लगानी गर्न पाउने व्यवस्था गरिने छ ।’
विभागले अरुण-४लाई नदीको वहावमा आधारित आयोजनाको रुपको रुपमा पहिचान गरेको थियो । तर, माथिल्लो अरुण अर्धजलाशययुक्त मोडलमा डिजाइन गरिएकाले यसबाट प्राप्त हुने पानीको बहावलाई सदुपयोग गरी अरुण-४लाई पनि अर्धजलाशययुक्त बनाउन लागिएको हो ।

अरुण-४ को बाँधस्थल भोटखोला गाउँपालिका-४ र ५स्थित अरुण नदी र लेक्सेवा दोभानभन्दा करिब १ सय ३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्दछ । बाँधमार्फत अरुण नदीको पानीलाई फर्काएर २.५५ किलोमिटर सुरुङमार्फत भूमिगत बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर)मा लगिने छ । डिसेन्डरबाट पानीलाई ६.८ किलोमिटर सुरुङमार्फत मकालु गाउँपालिका-३स्थित सजुवाबेसीमा भूमिगत विद्युतगृहमार्फत विद्युत उत्पादन गरिने छ ।

विद्युतगृहबाट विद्युत उत्पादन गरी ४७३.४ किलोमिटर टेलरेस सुरुङमार्फत पानीलाई पुनः अरुण नदीमा खसालिने छ । आयोजना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ ।

संखुवासभाको सदरमुकाम खाँदबारीबाट आयोजनाको विद्युतगृह र बाँध क्षेत्र क्रमश ः करिब ६२ र ७७ किलोमिटर टाढा रहेका छन् । कोसी राजमार्ग अन्तर्गत खाँदबारीदेखि आयोजना क्षेत्रसम्मको सडक खण्ड हाल स्तरोन्नति भइरहेको छ । बाँध क्षेत्र कोसी राजमार्गमा नै पर्दछ । विद्युतगृह क्षेत्र पुग्ने करिब २ किलोमटर ग्रामिण सडक गाउँपालिकाले स्तरोन्नति गरिरहेको छ ।

विभागले गरेको अध्ययनअनुसार, आयोजनाको अनुमानित लागत ५५ करोड अमेरिकी डलर (करिब ६५ अर्ब रुपैयाँ)  छ । आयोजनाबाट वार्षिक २ अर्ब ९ करोड युनिट ऊर्जा उत्पादन हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ