arrow

'प्रधानन्यायाधीशले आजै राजीनामा दिनुपर्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
cholendra-rana-chief-justic.jpg
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने पूर्व महान्यायाधिवक्ता  रमनकुमार श्रेष्ठले बताएका छन् ।  वरिष्ठ अधिवक्ता समेत रहेका श्रेष्ठले भने,‘उहाँले आजै राजीनामा दिनुपर्छ ।' 

श्रेष्ठले भने,‘ व्यक्तिगत रूपमा पनि यसले हित हुँदैन, उहाँ जति बस्नुहुन उहाँलाई त्यति ठूलो क्षति हुन्छ । न्यायालय र व्यक्तिगत क्षति रोक्ने हो भने तत्काल राजीनामा दिनुपर्छ । १४ जना न्यायाधीशले विद्रोह गर्नुभयो । कमण्डर मात्रै बाँकी भएको युद्ध कस्तो हुन्छ ? धेरै समय नलगाउनुहोस् अब २-४ घण्टाभित्रै राजीनामा दिनुपर्छ ।’

सोमबार  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानन्यायाधीशले स्वेच्छाले राजीनामा नदिए संविधानअनुसार चल्ने भन्दै महाभियोगको सङ्केत गरेका छन् । उनले भने,‘उहाँले राजीनामा दिनुभएन भने हामीसँग संविधान छ । उहाँको कमीकमजोरी रहे, संविधान अनुसार हुन्छ । प्रतिनिधिसभा छ, सांसद छन् । जनताको लेभलमा यत्रो कुरा उठेको छ । अझै धेरै प्रश्न उठ्ने वाला छ । अहिले बाहिर बाहिरको कुरा आएको छ, भित्री कुरा प्रवेश गरेपछि अझै छताछुल्ल हुन्छ । धेरै घण्टा पनि नलगाउनुहोस् । तत्काल राजीनामा दिनुहोस् ।’

उनले न्यायालयको आजको अवस्था बिग्रँदो अवसरमा रहेको टिप्पणी गरे । उनले भने,‘न्यायालय आजको ठाउँमा जो आई पुगेको छ, यो थोरै समयमा आएको होइन । हिजै देखिको देन हो । न्यायाधीश नियुक्तिमै विवाद रहँदै आएको छ । प्रधानन्यायाधीश न्याय सम्पादनमा चुक्नुभयो, संविधानले परिकल्पना नगरेको विषयमा प्रवेश हुनुभयो । उहाँले संवैधानिक निकायमा आफ्नो मान्छे नियुक्ति गर्नुभयो । मन्त्री पनि बनाउनुभयो । न्याय स्वतन्त्र हुनुपर्छ । यसमा राजनीतिक गन्ध आउनु पनि हुन्न । हिजो राजाको पालामा न्यायालयमा त्यति अधिकार थिएन । तर, अहिले २०७२ को संविधानपछि न्यायालयलाई धेरै अधिकार छ । सरकार नै परिवर्तन नै गर्न सक्ने न्यायालय आज कुन ठाउँमा पुग्यो ?’

श्रेष्ठले अहिलेको प्रधानन्यायाधीशले पदको गरिमालाई कायम गर्न नसकेको पनि गम्भीर आरोप लगाए । उनले भने,‘राष्ट्रपतिले गरिमा कायम गर्न नसकेको जस्तै अहिलेको प्रधानन्यायाधीशले पनि नसकेको हो । न्यायालय सम्पादन गर्ने कुरामा पनि प्रधानन्यायाधीशले ठिक काम गर्नुभएन । हरिकृष्ण कार्कीको नेतृत्वको समितिले रिपोर्ट ल्यायो, त्यो कार्यान्वयन भएको छैन । उहाँले जुनियर न्यायाधीशलाई साथमा लिएर महत्त्वपूर्ण फैसला गर्ने काम पनि गर्नुभयो । उहाँ विवाद विवादैमा पर्नुभयो । राजदूत, मन्त्री, संवैधानिक निकायमा कोटा खोज्नुभयो । त्यस्तो कोटा चाहिने मान्छेले दल खोज्नुपर्छ । न्यायालयमा अनियमितता र भ्रष्टाचार भएको छ, कमजोरी भएको छ भन्ने कुरा छ । राजनीतिक दलको जस्तो व्यक्ति प्रधानन्यायाधीशमा रहनहुँदैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ