arrow

प्रधानन्यायाधीशले न्यायाधीशहरुलाई सोधे : 'त्यसो भए तपाईंहरु पनि राजीनामा दिने ?'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
cholendra1.jpg

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले असन्तुष्ट न्यायाधीशहरुलाई आफू संवैधानिक प्रक्रियाबाट सर्वोच्चको नेतृत्वमा आएको भन्दै पद नछाड्ने प्रष्ट पारेका छन्।

प्रधानन्यायाधीश जबराले बाहिरबाट उठेका आवाजका भरमा राजीनामा दिनुपर्ने भए प्रश्न उठेका न्यायाधीशहरु पनि राजीनामा दिन तयार हो त? भन्ने प्रश्न न्यायाधीशहरुलाई गरेका छन्।

‘प्रधानन्यायाधीशको नियुक्ति संवैधानिक हो, संवैधानिक प्रक्रियाबाट आएकाले प्रक्रिया पुर्याएर हटाउने बाटो छ, बाहिरबाट प्रश्न उठेका भरमा राजीनामा दिने ?, कतिपय न्यायाधीशहरुमाथि पनि प्रश्न उठेका होलान्, त्यसो भए तपाइहरु पनि राजीनामा दिने ?,’प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुसँग प्रश्न गर्दै भनेको स्रोतले बतायो।

असन्तुष्ट न्यायाधीशहरुले भने राजीनामा बाहेकको विकल्प मान्न नसकिने अडान राखेका थिए। उनीहरुले प्रधानन्यायाधीश एकपछि अर्को विवादमा मुछिंदै गएको र न्यायालयको गरिमामाथि आँच आएको भन्दै न्यायालयको गरिमासँग जोडिएको विषयमा व्यक्तिले स्वार्थ केन्द्रीत गर्नु नहुने भनेका थिए।

जवाफमा प्रधानन्यायाधीश जबराले प्रश्न उठेका अन्य न्यायाधीशले पनि राजीनामा दिने भए आफू पनि तयार रहेको भनेका थिए।

छलफलमा प्रधानन्यायाधीश जबराले आफ्नो विषयमा भइरहेका टिका टिप्पणीमाथि प्रष्ट पार्ने कोसिस गरेका थिए। प्रधानन्यायाधीशले अदालतमा देखिएका विकृती विसंगतिको अन्त्य गर्ने विषयमासमेत प्रतिबद्धता जनाएका थिए।

तर न्यायाधीशहरु भने उनको राजीनामाको विकल्प नभएको भन्दै प्रधानन्यायाधीशले मार्ग प्रसस्त नगर्दासम्म निकासको सम्भावना नरहेको तर्क राखेका छन्।

हिजो सोमबार बसेको न्यायाधीशहरूको बैठकले जबरालाई भेटेर आफ्नो राय राख्ने निणर्य गरेका थिए। प्रधानन्यायाधीशको राजनीनामा माग गर्दै १४ जना न्यायाधीश एक ठाउँ उभिंदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ