arrow

विद्युतीय कारोवार ऐनको दुरुपयोग रोक्न गृहमन्त्रीसँग माग 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
online-patrakar-sangh-nepal.jpg

काठमाडौं । अनलाइन टीभी पत्रकार संघ नेपालले विद्युतीय कारोवार ऐन २०६३ को दुरुपयोग भएको भन्दै त्यसलाई रोक्न गृह मन्त्रालयसँग माग गरेको छ । विशेष गरेर कारोवार तथा दस्तावेजसम्वन्धी अपराध न्यूनिकरण गर्न ल्याइएको ऐनको दफा ४७ लाई प्रहरीले दुरुपयोग गरेको संघको ठहर छ । 

संघका अध्यक्ष जीवन भण्डारी नेतृत्वको टोलीले गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाउँदै प्रहरीले अन्य अपराधमा पनि विद्युतीय कारोवार ऐन आकर्षित गर्नु गलत भएको भन्दै ध्यानाकर्षण गराएको हो । 

विद्युतीय माध्यममा भइरहेका धेरै अपराधमा गोपनीयताको हक, गाली बेइज्यती र अश्लीलता सम्वन्धी लगायतका कानून आकर्षित गर्न सकिने संघको भनाइ छ ।

इन्टरनेट प्लेटफर्म अभिव्यक्तिको माध्यम भएकाले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा असर नपर्ने तर्फसमेत सचेत हुनुपर्नेमा संघले गृहमन्त्री खाँणको ध्यानाकर्षण गराएको छ । 

विद्युतीय माध्यममार्फत पत्रकारिता गर्ने क्रममा भएका कमीकमजोरी प्रहरीको क्षेत्राधिकारभन्दा प्रेस काउन्सिलको क्षेत्राधिकार भएको संघले स्पष्ट पारेको छ । 

पत्रकारिता र गैरपत्रकारिताका बीचमा अन्तर नछुट्याइ प्रहरीले व्यवहार गर्दा पत्रकारहरुले दुःख पाइरहेको गुनासोसमेत संघले गरेको छ । 

पछिल्लो समय पत्रकारलाई नियोजित रुपमा प्रहरीले दुःख दिने, झुटा मुद्धा लगाउने कार्य गरिरहेकाले यस्ता कार्य तत्काल बन्द हुने गरी विशेष कदम चाल्नसमेत गृहमन्त्री खाँणलाई संघले आग्रह गरेको छ । 

विद्युतीय अपराध दिनप्रतिदिन बढ्दै गएकाले सञ्चारकर्मीसँगै दर्शक–पाठक–श्रोतालाई साइबर सम्वन्धी सचेतना कार्यक्रम व्यापक गराउनु पर्ने, त्यसका लागि अनलाइन टीभीहरुसँगै सबै प्रकारका सञ्चार माध्यमलाई नै प्रयोग गर्न सकिने र राज्यबाट दिइने अवसर र पहुँच अनलाइन टिभीकर्मीहरुलाई पनि दिनुपर्ने माग संघले गरेको छ । 

संघको मागप्रति गृहमन्त्री खाँणले आफू सकारात्मक रहेको र यस क्षेत्रको विकृति न्यूनिकरणका लागि सरोकारवालाहरुसँग छलफल गरेर चाँडै नै सही कदम चाल्ने प्रतिवद्धता जनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ