arrow

कांग्रेसका १२ नेताले भने : कांग्रेस न्यायालय शुद्धीकरणको लडाइँको पक्षमा उभिनु पर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
supreme-court-long.jpg
फाइल तस्बिर

काठमाडौं। नेपाली कांग्रेसका १२ नेताले न्यायालय भित्रको विषयमा नेपाली कांग्रेस प्रष्ट हुनु पर्ने बताएका छन्। शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसका १२ जना युवा नेताले ‘नेपाली कांग्रेस मूकदर्शक बन्न या घटनाक्रमलाई न्यायालय भित्रको विषय हो उसैले जानोस् भनेर नजरअन्दाज गर्न मिल्छ?’ भन्दै पार्टी नेतृत्वसँग प्रश्न गरेका हुन्।

यसरी पार्टी नेतृत्वमाथि प्रश्न गर्नेमा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, प्रदिप पौडेल, सरिता प्रसाइ, रामकृष्ण यादव र किरण यादव छन्।

उनीहरूले नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वतन्त्र न्यायालयको ठुलो योगदान रहेको बताउँदै निरङ्कुशतन्त्र पनि न्यायालयको नेतृत्वले नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा विवेकशील र न्यायपूर्ण रूपमा आफूलाई उभ्याउँदै आएको गौरवपूर्ण इतिहास रहेको भनेका छन्।

उनीहरूले सो यथार्थको उपहास हुने कुनै पनि गतिविधि हुन  नदिनु सबैको कर्तव्य र जिम्मेवारी रहेको भन्दै न्यायालयको स्वतन्त्रता र निष्पक्षता लोकतान्त्रिक शासन प्रणालीको पूर्व सर्त र प्रमुख आधार रहने भनेका छन्।

‘पछिल्लो समय न्यायालयको नेतृत्वका विषयमा न्यायालय र न्याय प्रणाली भित्रैबाट उठेको विरोधलाई सामान्य रूपमा लिन मिल्दैन,’ उनीहरूले विज्ञप्तिमा भनेका छन्,‘यस्तो पेचिलो परिस्थितिमा पनि केही दल मौन छन् भने केहीले बिगतमा न्यायालयले गरेको संविधानको रक्षाको प्रतिसोध साध्न खोजेका छन् र घटनाक्रमलाई विषयान्तर गर्न प्रयत्नशील छन्। यस अवस्थामा नेपाली कांग्रेस मूकदर्शक बन्न या घटनाक्रमलाई न्यायालय भित्रको विषय हो उसैले जानोस् भनेर नजरअन्दाज गर्न मिल्छ?कदापि मिल्दैन।’

उनीहरूले अहिलेको लडाइँ न्यायालयलाई निष्पक्ष, स्वतन्त्र र पवित्र राख्ने कि नराख्ने भन्नेमा केन्द्रित भएकोले आफ्नो जन्मकालदेखि नै स्वतन्त्र र निष्पक्ष न्यायालयको पक्षमा सङ्घर्ष गरेको नेपाली कांग्रेस झनै सो मामिलामा मौन बस्न नमिल्ने बताएका हुन् ।

‘न्यायपालिकाको नेतृत्वको शुद्ध न्यायिक आचरण बिना न्यायपालिकाको स्वतन्त्रता सम्भव हुँदैन अनि न्यायपालिकाको स्वतन्त्रता बिना नेपाली कांग्रेसले विश्वास गरेको उदार लोकतन्त्रको संरक्षण सम्भव छैन। अतः अहिलेको अवस्थामा  नेपाली कांग्रेस स्पष्ट दृष्टिकोणका साथ न्यायालय शुद्धीकरणको लागि भइरहेको लडाइँको  पक्षमा उभिनु पर्छ,’विज्ञप्तिमा भनिएको छ।

लोकतन्त्र र न्यायको आधारभूत मर्म माथि हुने सबै किसिमका प्रहारलाई रोक्नु र अदालतप्रतिको जनविश्वासलाई डगमगाउन नदिनु कांग्रेसको प्रमुख दायित्व भएको उनीहरूको भनाइ छ।

‘वीपी भन्नुहुन्थ्यो, लोकतन्त्रको जग बसाल्न र यसको सुदृढीकरण गर्न न्यायपालिकाको निष्पक्षतालाई अुक्षण्य राख्नु पर्छ।यस्ता संस्था लोकतन्त्रको मात्र होइन,राष्ट्रका सजग प्रहरी हुन।’ उनीहरूले विज्ञप्तिमा वीपीलाई सम्झँदै भनेका छन्।

विज्ञप्तिमा न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रताका लागि आज देखिएको समस्या हल गरेर मात्र नपुग्ने भन्दै न्यायपालिकाको निष्पक्षताका लागि संविधान, कानुन, नियत, अभ्यास, शैली र प्रक्रिया यी सवैमा गम्भीर विमर्श गर्दै उपयुक्त निर्णयको खाँचो रहेको भनिएको छ।

विज्ञप्तिमा अघि भनिएको छ, ‘हाम्रो विनम्रतापूर्वक अनुरोध छ;- नेपाली कांग्रेसले अहिले न्याय प्रणालीका सन्दर्भमा उठेका प्रश्नलाई नजरअन्दाज नगरी समस्याको हल खोज्न जिम्मेवारीपूर्वक अविलम्ब अग्रसरता  लिनुपर्दछ, साथै विगतमा न्यायालयसँग सम्बन्धित कानुनी र अभ्यासगत रूपमा भए गरेका काम कारबाहीबाट सिक्दै न्याय प्रणालीको संस्थागत विकास, न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रताका खातिर दीर्घकालीन समाधान खोज्नको लागि नेतृत्वदायी भूमिका पनि नेपाली कांग्रेसले लिनुपर्दछ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ