arrow

‘एमाले पार्टी’ ओली फाउण्डेसन हो : अध्यक्ष नेपाल

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
madhav-nepal-.JPG

स्याङ्जा । नेपाल कम्युनिस्ट पाटी एमाले विभाजन पछि नयाँ दल निर्माण गरेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) ले स्याङ्जामा शुक्रवारबाट पार्टी कार्यालय उद्घाटन गरेको छ । नेकपा (एस) भन्ने पाटीमा कार्यकर्ता नै नभएको आरोप नेकपा एमाले स्याङ्जाले लगाउँदै आएको थियो । यसको चुनौती दिँदै नेकपा (एस) को केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको प्रमुख आथित्यतामा जिल्ला पार्टी कार्यालयको उद्घाटन गरिएको हो । 

पार्टी कार्यालय उद्घाटन गर्दै पार्टीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमाले पार्टी कुनै दल नभएर केपी ओली फाउण्डेसन भएको बताए । कुनै पनि पार्टीमा व्यक्ति प्रदान हुँदैन अध्यक्ष नेपालले भने,‘पार्टीमा नीति, सिद्धान्त र बिचार प्रदान हुन्छ ।’ 

ओलीले नेतृत्व गरेको पार्टी कम्पनी हो यसको विलय हुन समय लाग्दैन उनले भने । विचार नसुन्ने, कार्यकर्ताको भावना माथि कुठाराघात गर्ने प्रतिगमनका मतियार बन्ने ओली प्रवृत्ति विरुद्ध विद्रोह गर्न बाध्य भएको अध्यक्ष नेपालले बताए । नेपालको इतिहासमा विद्रोह गरेको कम्युनिस्ट पाटी फस्टाएको उदाहरण दिँदै अध्यक्ष नेपालले ओलीले नेतृत्व गरेको फाउण्डेसन पार्टी केशर जङ्ग रायमाझी भन्दा फरक नहुने जिकिर गरे ।

करिब ४५ मिनेट भाषण गरेका अध्यक्ष नेपालले अधिकांश समय नेकपा एमाले अध्यक्ष केपी ओलीलाई गाली गर्नेमै खर्चिएका थिए । सरकारमा रहँदा अर्वौ आर्थिक भ्रष्टाचार गरेको आरोप लगाउँदै अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई धुजा धुजा बनाउन ओली तल्लीन रहेको बताए । 

एकीकृत समाजवादीको शक्ति सुदूर पश्चिममा हेर्नुपर्ने बताउँदै नेता नेपालले समाजवादीको शक्ति देखेर केपी ओलीको नीद हराम भएको जिकिर गरे । सुदूरपश्चिममा हाम्रो पार्टी पहिलो र एमाले चौथो रहेको बताउँदै अध्यक्ष नेपालले आगामी निर्वाचनमा एमाले चौथो पार्टी बन्ने ठोकुवा गरे । 

ओलीको कामै अग्रगमनको विरोध गर्ने र प्रतिगमनको मतियार भएको बताउँदै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले सत्ताबाट हट्ने डरले दुई दुई पटक प्रतिनिधि सभा विघटन गरेको आरोप लगाए । 

पार्टीमा बिचार, सिद्धान्तका काम ठिक भएमा सबैले वाह वाह भन्ने बताउँदै बिचार नभएकोलाई बाई बाई गर्नुपर्ने नेपालले बताए । आगामी निर्वाचनमा काँग्रेस, माओवादी, समाजवादी, जसपा, जनमोर्चा मिलेर चुनाव लड्ने बताउँदै नेपालले आगामी चुनावमा ओली फाउन्डेसनको भविष्य सकिने दावी गरे । 

उद्घाटन कार्यक्रममा नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले अबको २० दिनमा १२ वर्ष माथिकालाई खोप लगाउन एक करोडको सम्झौता भएको बताए । १८ वर्ष माथीकाले खोप लगाइरहेको र चाडै सबैले लगाउने बताउँदै मन्त्री खतिवडाले १२ वर्ष मुनिकालाई खोपले मान्यता पाएसँगै ल्याउने बताए । ओली सरकारले कुनै लक्ष्य बिना सयौँ अस्पताल काठमाडौँ बसेर उद्घाटन गरेको बताउँदै मन्त्री खतिवडाले पुर्जा र डीपीआर ल्याए अस्पताल खोल्न सरकारले रकम विनियोजन गर्ने बताए । 

कम्युनिस्टका ठुला दुई पार्टी एकीकृत हुँदा जनतामा आसा जागेको बताउँदै मन्त्री खतिवडाले जनताले दिएको विश्वास माथि ओलीले घात गरेको आरोप लगाए । उखान टुक्काले पार्टी र देश नचल्ने बताउँदै यस्ता भ्रममा नपर्न सबैलाई मन्त्री खतिवडाले आग्रह गरे । 

कार्यक्रममा स्थायी कमिटी सदस्य रामजी शर्मा, केन्द्रीय सदस्य ताज महोम्बद मियाँ, जिल्ला इन्चार्ज प्रेम नारायण पौडेल, सांसद कलिलाँ खान, जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई, उपसचिव टिकाराम नेपाली लगायतले समाजवादी पार्टीलाई बलियो र दर्बिलो बनाउन सबै जुट्ने बेला आएको बताएका थिए । 



नयाँ