- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आयुर्वेद दिवसको उपलक्ष्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौं र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त रुपमा ‘आरोग्य सप्ताह’ मनाएको छ ।
सप्ताहव्यापी उत्सवको अवसरमा ‘आरोग्यको लागि आयुर्वेद-सम्भावना र चुनौती’ विषयक अन्तर्राष्ट्रिय वेबिनारमा कोभिड-१९ महामारीको समयमा आयुर्वेदको उपयोगिताबारे चर्चा गरिएको थियो । आयुर्वेद दिवस (धन्वंतरी जयन्ती) नेपालमा राष्ट्रिय आरोग्य दिवसको रूपमा पनि मनाइन्छ ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा शिवलाल भुसाल, चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डिन प्राडा प्रदीप वैद्य, आयुर्वेद क्याम्पसका क्याम्पस प्रमुख डा.शिव मंगल प्रसाद लगायत अन्य शिक्षाविद्हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारले विशेषगरी कोभिड–१९ महामारीको समयमा आयुर्वेदको उपयोगिताबारे प्रकाश पारेका थिए ।
वेबिनारमा भारत, नेपाल र अन्य देशका करिब २०० जना विज्ञ र विद्यार्थीहरु उपस्थित थिए । कार्यक्रममा अष्टांगम आयुर्वेद चिकित्सालयम र विद्यापीठम, केरला, भारतका प्रधानाध्यापक र प्रमुख चिकित्सक प्राडा अलाथियुर नारायणन नाम्बी र इन्स्टिच्युट अफ इन्डिजिनस मेडिसिन, कोलम्बो विश्वविद्यालय, श्रीलंकाका डा एसएमएस समाराकुनले मुख्य वक्ताको रूपमा आफ्ना विचार राखेका थिए ।
कार्यक्रम भारतको स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा वर्षभरी मनाउन गइरहेको आजादीको अमृत महोत्सवको एक हिस्साको रूपमा आयोजना गरिएको थियो ।