arrow

'न्यायिक क्षेत्रको विवादको समाधान न्यायालयबाट नै खेज्नुपर्छ'

logo
रासस,
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
supreme-court-of-nepal_1617805496.jpeg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सचिव जीवनराम श्रेष्ठले न्यायिक क्षेत्रमा देखिएको विवादको समाधान न्यायलयबाट नै खेज्नुपर्ने बताएका छन् । 

पार्टी निकट सङ्गठन, काठमाडौँ महानगरपालिका-२३ वडाले दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले न्यायिक आस्थाका धरोहरका रुपमा स्थापित न्यायलयबाट विवाद टुङ्गो लाग्न नसकेमा राजनीतिक प्रणालीमा नै असर पुग्ने बताए । 

पार्टीका संसदीय विभाग प्रमुखसमेत रहेका श्रेष्ठले (एमाले)ले कम्युनिष्ट आदर्शलाई कायम राख्न नसकेकाले आफूहरुले विद्रोह गरी नयाँ दल स्थापना गर्नुपरेको उल्लेख गर्दै कम्युनिष्ट विचारमा आवद्ध तथा सामाजिक न्याय र समानताका पक्षमा रहेका सम्पूर्ण नागरिकलाई नेकपा एकीकृत समाजवादीमा गोलबद्ध हुन आग्रह गरे । 

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा समेत निर्वाचित भएका श्रेष्ठले मुलुकमा राजनीतिक स्थायित्व कायम राख्न गत निर्वाचनमा जनताले कम्युनिष्टलाई विश्वास गरेर करिब दुई तिहाई बहुमत दिएको स्मरण गर्दै तत्कालीन ओली सरकारले सत्ता बचाउनका लागि लोकतन्त्र र संविधानलाई नै धरापमा राखेर देश र जनतालाई धोका दिएको विचार व्यक्त गरे । 

नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका श्रेष्ठले विभिन्न जाति समुदायले सजिएको मुलुकमा सबैका फरक संस्कृति, रीतिरिवाज तथा मौलिक चाडपर्व रहेको र तीनले मुलुकको गौरब बढाएको बताए । 

पार्टीका केन्द्रीय सदस्यद्वय सागर थापा र रामेश्वर श्रेष्ठ, काठमाडौँ महानगरपालिका-२३ का वडाध्यक्ष मचाराजा महर्जनले विविधताले भरिएको समाजमा सबै पर्वको संरक्षण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पार्टीका वडा कमिटी अध्यक्ष शैलेन्द्र शाक्य, क्षेत्र नं ८ का संयोजक सुरेन्द्रहर्ष बज्राचार्यलगायतको उल्लेखनीय सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ