arrow

'महाधिवेशन अब पार्टी सभापतिको हातमा छैन'

logo
रासस,
प्रकाशित २०७८ कार्तिक १९ शुक्रबार
savapati-deuba.jpg

भक्तपुर । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताएका छन् ।

नेपाली काँग्रेस भक्तपुरले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले निर्धारित समयमै महाधिवेशन होस् भन्ने आफ्नो चाहना भए पनि आफूले चाहेर मात्रै नहुने उल्लेख गरे । प्रधानमन्त्री देउवाले भने, “समयमै महाधिवेशन हुनुपर्छ भन्ने मेरो पनि चाहना हो, तर महाधिवेशन अब पार्टी सभापतिको हातमा छैन, कहिले गर्ने भन्ने निर्वाचन समितिको हातमा छ ।” निर्वाचन समितिलाई मङ्सिरभित्रै सबै काम सक्नुस् भनेको उल्लेख गर्दै उनले समितिले छिटो काम सके महाधिवेशन समयमै हुन्छ, तोकेकै मितिमै हुन्छ, भने ।

कसैको पनि कुरा नसुनी महाधिवेशनको तयारीमा लाग्न प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गरे । उनले भने, “जसले जे भने पनि नपत्याउनुस्, महाधिवेशन निर्धारित समयमै हुन्छ, स्थानीय तहदेखि नै सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नुस्, सर्वसम्मत हुँदै भएन भने मात्रै स्वस्थ प्रतिस्पर्धामा जानुस् ।”

पार्टीको अधिवेशनमा जित-हार हुन्छ तर यसलाई दुस्मनीका रूपमा लिन नहुने बताउँदै प्रधानमन्त्री देउवाले भने, “पार्टी अधिवेशन आउँदै छ, सर्वसम्मत रूपमा पार्टी सभापति छान्नुस्, जित हार हुन्छ, हार्नेले जित्नेलाई सहयोग र जित्नेले हार्नेलाई सहयोग गर्नुपर्छ, जित-हारबाट दुस्मनी नबढोस् ।” उनले कोभिड-१९ को सङ्क्रमणबाट जोगिन कोरोनाविरुद्धको खोप तेस्रो पटक लगाउन आम जनतालाई आग्रह गरे । 

प्रधानमन्त्री देउवाले भने, “कोरोनाविरुद्धको पहिलो र दोस्रो पटक खोप लगाएकालाई पनि फेरि कोरोना सङ्क्रमण भएको छ, तेस्रो पटक पनि खोप दिनुपर्ने भएको छ, मैले पनि दुई पटक मात्रै लगाएको छु, तेस्रो पटक लगाउनुपर्छ, तपाईँहरू पनि दुई पटक खोप लिएकाले तेस्रो पटक पनि लगाउनुहोस् ।” सो अवसरमा उनले सहिद भरत गोपाल झाका परिवारलाई राज्यबाट पाउने सुविधा दिलाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल, जिल्ला सभापति दुर्लभ थापा, उपसभापति हरि नेपाल, सचिव उद्धव सिलवाललगायतले लोकतन्त्रको रक्षाका लागि पार्टी एक ढिक्का भएर जानुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ