arrow

स्याङ्जामा ११५ दिनको ४८ करोड राजस्व सङ्कलन

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
Syangja_district_map.png

स्याङ्जा । सङ्घीय र गण्डकी प्रदेश सरकारका लागि स्याङ्जाबाट ४८ करोड राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८-०७९ सुरु भएको १ सय १५ दिनमा सो राजस्व सङ्कलन भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार साउन १ गते देखि कार्त्तिक २३ गते सम्म स्याङ्जामा ४७ करोड ९२ लाख ३८ हजार ८ सय १ रुपैयाँ राजस्व सङ्कलन भएको जनाएको छ । यो गत आर्थिक वर्षको भन्दा निकै राम्रो सन्देश हो । सङ्घीय सरकार र प्रदेश सरकारलाई विषयगत सरकारी कार्यालयबाट उठाइने करको दायरा निकै शुभ देखिएको कोलेनिका स्याङ्जाका प्रमुख भुवन काफ्लेले बताए । 

कोलेनिका प्रमुख काफ्लेका अनुसार १ सय १५ दिनमा सङ्घीय सरकारका लागि ४४ करोड ६६ लाख ७५ हजार ४ सय ७० राजस्व सङ्कलन भएको छ भने प्रदेश सरकारका लागि ३ करोड २५ लाख ६३ हजार ३ सय ३१ राजस्व सङ्कलन भएको छ । राजस्व वृद्धि हुनुमा स्थानीय तहको रकम फिर्ता र राहदानी बनाउनेको सङ्ख्या बढ्नु रहेको काफ्लेको तर्क छ । गत आर्थिक वर्ष २०७७-०७८ मा ५७ करोड राजस्व सङ्कलन सङ्घीय सरकारलाई भएको थियो भने प्रदेश सरकारलाई १० करोडको हाराहारीमा रहेको थियो । 

एकै दिन अथवा कार्त्तिक २३ गते मात्रै स्याङ्जामा सङ्घीय सरकार र प्रदेश सरकारलाई ११ लाख ८४ हजार ९१ रुपैयाँ राजस्व सङ्कलन भएको छ । सङ्घीय सरकारलाई ७ लाख ६७ हजार २ सय ९१ र प्रदेश सरकारलाई ४ लाख १६ हजार ८ सय राजस्व सङ्कलन भएको कोलेनिका स्याङ्जाले जनाएको छ । एकै दिन सङ्घीय सरकारलाई जिल्ला प्रशासनले १ लाख ३८ हजार ३ सय, इलाका प्रशासन वालिङले २ लाख २७ हजार ५ सय, करदाता कार्यालयले ३ लाख १७ हजार ४ सय ९१, जिल्ला प्रहरी कार्यालयले ३५ हजार ५ सय र शिक्षा विकास समन्वय इकाईले ५१ हजार ५ सय राजस्व सङ्कलन गरेका छन् । 

प्रदेश सरकारका लागि घरेलु तथा साना उद्योग विकास समितिले ५२ हजार १ सय र पूर्वाधार विकास कार्यालयले ३ लाख ६४ हजार ७ सय राजस्व सङ्कलन गरेका छन् । तुलनात्मक हिसाबले गृह मन्त्रालय अन्तर्गत रहेको जिल्ला प्रशासन र इलाका प्रशासनले सबै भन्दा बढी सङ्घीय सरकारलाई राजस्व सङ्कलन गर्न सफल भएका छन् । राहदानी बनाउने नागरिकको सङ्ख्यामा वृद्धि हुँदा प्रशासनको राजस्व निकै बढ्न पुगेको बताइएको छ ।

 यो क्रम अझै केही महिना चल्न सक्ने अनुमान गरिएको छ । राहदानी नभएसम्म डिभी भर्न नपाउने व्यवस्था अमेरिकाले गरेपछि अहिले राहदानी बनाउनेको सङ्ख्या बढेको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख नवराज बरालले बताए । इलाका प्रशासन वालिङमा दैनिक ५० देखि ८० सम्म राहदानी बनाउनेको सङ्ख्या रहेको बरालले बताए । जिल्ला प्रशासनमा पनि राहदानी बनाउने सोही सङ्ख्यामा रहेको बताइएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ