arrow

अजित डोभालले भने 'अफगानिस्तानका घटनाक्रमले छिमेकीलाई असर गर्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
Delhi-regional-afghanistan-dialogue.jpg

काठमाडौँ । भारतको नयाँदिल्लीमा अफगानिस्तानको विषयलाई लिएर क्षेत्रीय सुरक्षा संवाद चलिरहेको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) स्तरको सुरक्षा सम्मेलनमा रुस, इरान, ताजिकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तान, काजकिस्तान र कीर्गिस्तानका उच्च अधिकारीहरूको सहभागिता रहेको छ ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको अध्यक्षता चलिरहेको सम्मेलनमा उनले अफगानिस्तानमा विकसित घटनाक्रमले छिमेकी मुलुकहरूलाई समेत असर पार्ने बताएका छन् ।  

उनले भनेका छन्, 'आज यो संवादको आयोजना गर्न पाउनु भारतका लागि सौभाग्यको कुरा हो । हामीले अफगानिस्तानको घटनाक्रमलाई गहिरिएर हेरिरहेका छौँ । यसले अफगानिस्तानका जनताका लागि मात्र नभई यसका छिमेकी र यो क्षेत्रका लागि पनि महत्त्वपूर्ण प्रभाव पार्छ ।' 

यसबाहेक उनले यो सम्मेलन अफगानी जनताका लागि फलदायी हुने विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्, 'यो हामी बिचको घनिष्ठ परामर्श, क्षेत्रीय देशहरू बिच बृहत्तर सहयोग र अन्तरक्रिया र सहयोगको समय हो। म विश्वस्त छु कि हाम्रो विचार-विमर्श अफगानिस्तानका जनतालाई मद्दत गर्न र सामूहिक सुरक्षा बढाउन फलदायी र उपयोगी हुनेछ ।'

सम्मेलनमा बोल्दै किर्गिस्तानको सुरक्षा परिषद्का सचिव मरात मुकानोभिक इमानकुलोभले भनेका छन् , 'अफगानिस्तानमा आतङ्कवादी सङ्गठनहरूको विषय हाम्रो क्षेत्र र सारा संसारका लागि जटिल अवस्था हो । संयुक्त प्रयासका साथ अफगानी जनतालाई मद्दत गर्नुपर्छ ।'

ताजिकिस्तानको सुरक्षा परिषद्का सचिव नसरुल्लो रहमतजोन महमुदजोदाले 'छिमेकी राष्ट्रका रूपमा अफगानिस्तानका जनतालाई मद्दत गर्न सक्ने जति सबै कार्यक्रमहरूमा सहभागी हुन तयार रहेको' बताएका छन् । 

'अफगानिस्तानसँग लामो सीमा रहेको हुनाले हालको अवस्थामा लागु औषध ओसारपसार, आतङ्कवादका लागि थप जोखिम सिर्जना भएका कारण ताजिक-अफगान सीमा स्थिति जटिल रहेको' समेत उनले बताए ।

'अफगानिस्तानमा आप्रवासी र शरणार्थी संकट उत्पन्न भएको' इरानका रियर एडमिरल अली शामखानीले बताएका छन् । 'यसलाई समाधान गर्न समावेशी र सबै जातीय समूहको सहभागिताबाट सरकार गठन गर्न जरुरी रहको' उनकाे भनाइ छ।

'अफगानिस्तानको पछिल्लो अवस्थालाई लिएर चिन्तित रहेको' काजकिस्तानका राष्ट्रिय सुरक्षा कमिटीका अध्यक्ष करिम मासिमोभले बताए । 'अफगानिस्तानको सामाजिक एवं आर्थिक अवस्था बिग्रँदै गएको र मानवीय सङ्कटको सामना गरिरहेका कारण सहायता बढाउन आवश्यक रहेको' उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ