arrow

चुनावी रापमा एमाले

भीम तात्तिएपछि केपी सर्वसम्मत हुनेमा शंका, प्रवक्ता ज्ञवाली भन्छन् – 'नेतृत्व चयन सहमतिमै’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
kp-oli-bhim-rawal-uml.jpg

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन नजिकिदै गर्दा नेतृत्वको लागि सहमति बन्नेमा शंका उब्जिएको छ । केपी शर्मा ओली सर्वसम्मत निर्विवाद अध्यक्ष हुने बताइरहँदा जब उपाध्यक्ष डा. भीम रावलले सुदूरपश्चिम पुगेर धावा बोल्दै अध्यक्षमा आफू पनि लड्ने बताएपछि सर्वसम्मत हुनेमा आशंका बढेको हो । 

लामो समयदेखि माधवकुमार नेपालसँग सहयात्रा गरेका रावलले अन्तिम समयमा आएर नेपाललाई धोका दिई एमालेमै रहेपछि पार्टीभित्र अस्तित्वको लडाइँ लडिरहेका छन् । उनका लागि वर्तमान अध्यक्ष ओलीले कुनै विकल्पसमेत नसोचेपछि रावललाई पनि अध्यक्षमै लड्न दबाब भएको हो । 

उनले मिडियामा आफूलाई आफ्ना मतदाता र हितैसी एमाले नेताहरुले नेतृत्वका लागि लड्न सुझाव दिएपछि अब अध्यक्षमै लड्ने बताएका छन् । उनले जितहार भन्दा पनि लोकतान्त्रिक पद्धतिअनुसार अगाडि बढ्ने बताएका छन् । 

योसँगै ओलीको सर्वसम्मत अध्यक्ष बन्ने सपनामा तुसारापात आउने सम्भावना देखिन्छ । रावल नेतृत्वले १० बुँदे सहमति पालना नगरेको आरोपमा आक्रोशित छन् । एमाले पनि छाड्न नसक्ने र ओलीलाई साथ दिएर पनि जान नसक्ने अवस्थामा रावलले ओलीसँगै भिडन्त गर्ने मनस्थिति बनाएका हुन् । 

यसैबीच एमाले सचिव एवं प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने दाबी गरेका छन् । चितवनमा बिहीबार पत्रकारसँग कुरा गर्दै उनले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताएका हुन् । 

सचिव ज्ञवालीले भने, “अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ । केन्द्रीय सदस्यमा धेरै साथीहरू आकाङ्क्षी भएकाले मतदान हुन्छ ।” केन्द्रीय सदस्य र अन्य कुनै एक–दुई पदबाहेक अन्य पद सर्वसम्मतमै टुङ्गिने उनको भनाइ थियो ।
 
महाधिवेशनका लागि तयारी तीव्र पारिएकाले बिहीबार केन्द्रीय पदाधिकारी महाधिवेशन उद्घाटनस्थल र बन्द सत्रस्थलसमेत अनुगमन गर्न चितवन आएको सचिव ज्ञवालीले जानकारी दिए । 

महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम कात्तिक २७ गते हुने उल्लेख गर्दै  उनले भने, “२७ गते देशभरि  र प्रवासमा समेत प्रतिनिधि छनोट गरिने छ ।” महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनालाई निम्ता गर्ने काम सकिएको सचिव ज्ञवालीले जानकारी दिए । 

पार्टीभित्र अहिले देखिएका केही समस्या समाधान गरेर अघि बढ्ने चर्चा गर्दै  उनले भने, “पालिका र जिल्लामा त्यस्तो समस्या छैन । केही साथीको कार्यविभाजनमा असन्तुष्टि रहेको छ । यो समाधान हुँदै जान्छ ।” 

पार्टी एकताको मनोविज्ञान र १० बुँदे पछि जोडिएका साथीहरूको मनोविज्ञानका आधारमा अघि बढ्ने  जानकारी दिँदै उनले भने, “१०औँ महाधिवेशन अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत अघि बढ्छ ।” (राससको सहयोगमा)



नयाँ