arrow

अफगानिस्तानबाट निस्कने आतङ्कवादविरुद्ध लड्ने दिल्ली घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
nsa-regional-dilouge-security-afghanistan.jpg

काठमाडौं। बुधवार भारतको नयाँ दिल्लीमा भएको क्षेत्रीय सुरक्षा संवादले अफगानिस्तानबाट उत्पन्न हुनसक्ने आतङ्कवादविरुद्ध लड्ने प्रयासको घोषणा गरेको छ ।

भारत, रुस, इरान, ताजिकिस्तान, उज्बेकिस्तान, तुर्कमेनिस्तान, काजकिस्तान र किर्गिस्तान गरी ८ देशबिच भएको सुरक्षा सम्मेलन अफगानिस्तानकाे बिषयमा केन्द्रित थियो ।

सम्मेलनमा आठ वटै देशहरूले आतङ्कवादी गतिविधिहरूको कडा निन्दा गर्दै आतङ्कवादविरुद्ध लड्न आफ्नो दृढ प्रतिबद्धतालाई पुष्टि गरेका हुन्।

साे क्रममा राष्ट्रिय सुरक्षा सल्लाहकार एवं राष्ट्रिय सुरक्षा परिषद्का सचिवहरूले अफगानिस्तान आसपासको क्षेत्रमा कट्टरपन्थी, चरमपन्थ, पृथकतावाद र लागु औषध ओसारपसारको खतराविरुद्ध सामूहिक सहकार्यका लागि आह्वान गरे ।

सम्मेलनमा उच्च सुरक्षा अधिकारीहरूले अफगानिस्तान कहिल्यै विश्वव्यापी आतङ्कवादको लागि सुरक्षित आश्रय नबन्ने सुनिश्चितताको अभिव्यक्ति समेत दिएका छन् ।

क्षेत्रीय सुरक्षा संवादमा आठै देशका अधिकारीहरूले अफगानिस्तानको विकसित अवस्था, विशेष गरी सुरक्षा अवस्था र यसको क्षेत्रीय र विश्वव्यापी असरका बारेमा छलफल गरेका थिए। यसका साथसाथै अफगानिस्तानको वर्तमान राजनीतिक अवस्था र आतङ्कवादबाट उत्पन्न खतरालाई समेत केन्द्रमा राखेको थियो ।

सबै पक्षहरूले शान्ति, सुरक्षा, स्थिरता एवं अफगानिस्तानको सार्वभौमसत्ता, एकता र क्षेत्रीय अखण्डताको सम्मान गर्दै आन्तरिक मामिलामा अहस्तक्षेप नगर्ने कुरामा जोड दिएका थिए ।

यस्तै उनीहरूले अफगानिस्तानमा संयुक्त राष्ट्र सङ्घको विशेष भूमिका रहनुपर्नेमा जोड दिएका छन् । यस्तै सबै पक्षले अफगानिस्तानको बिग्रँदो सामाजिक, आर्थिक र मानवीय अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अफगानिस्तानका जनतालाई तत्काल मानवीय सहायता उपलब्ध गराउन आवश्यक रहेकोमा जोड दिए।

तेस्रो क्षेत्रीय सुरक्षा संवाद आयोजना गरेकोमा भारतलाई धन्यवाद दिँदै अर्को सम्मेलनमा सन् २०२२ मा गर्न सहभागीहरू सहमत भएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ