- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एमाले र माले परित्याग गरी केही नेताहरु नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।नेकपा एसले विहीबार एक विज्ञप्ति जारी गर्दै विभिन्न कम्युनिष्ट घटक परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्नेको संख्या बढेको जनाएको छ ।
एमाले डडेल्धुराका जिल्ला कमिटी अध्यक्ष डा.तारा जोशीसहित जिल्ला नेतृत्वका १४ नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको एसले जनाएको छ ।
त्यस्तै उक्त जिल्ला कमिटीका उपाध्यक्ष वीरेन्द्र बस्नेत, सचिव धनबहादुर सावद र उपसचिव सकुन्तला नगरकोटीसहितका नेता कार्यकर्तालाई अध्यक्ष माधवकुमार नेपालले डडेल्धुरा सदरमुकाममा आयोजित कार्यक्रममा स्वागत गरेका हुन् ।
पार्टी प्रवेश गर्ने डा.जोशी ०७५ जेठ २ को स्थितिमा जिल्ला कमिटी अध्यक्ष थिए । केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि डा.जोशी उक्त कदमविरोधी विचार समूहमा रहेका थिए । तर १० बुँदेको भ्रममा परी उनी एमालेमै थिए ।
त्यस्तै उता महाधिवेशनको पूर्वसन्ध्यामा रहेको नेकपा (माले) परित्याग गर्नेको संख्या बढेको पनि नेकपा एसले जनाएको छ । माले परित्याग गरी खोटाङ, तनहुँ र स्याङ्जा जिल्ला कमिटी, विभिन्न प्रदेश र केन्द्रीय विभागका जिम्मेवारीमा रहेकाहरु नेकपा (एकीकृत समाजवादी)मा आएका हुन् ।
नेकपा (माले) का पोलिट्व्युरो सदस्य कूलप्रसाद शर्मा फुँयाल, केन्द्रीय सदस्यहरु श्यामराज राई, कालीप्रसाद यादव, शंकर पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै माले त्यागेको घोषणा गरेका हुन् ।
त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी) दोलखा जिल्ला कमिटी सदस्य रामबहादुर खड्कासहित गौरीशंकर गाउँपालिकाका नेकपा (एमाले) का १० जना समर्थक नेकपा एसमा प्रवेश गरेको उक्त पार्टीको सचिवालयले जनाएको छ ।