हरिबोधनी एकादशीमा कालीगण्डकीमा नुहाउनेको घुइँचो, मोदीवेणीमा विशेष मेला
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
582
Shares
तस्वीर–हरिबोधनी एकादशीको अवसरमा सोमबार बिहान तनहुँको देवघाट गाउँपालिकास्थित वेणी सङ्गममा स्थानका लागि पुगेका सर्वसाधारण ।
पर्वत । हरिबोधनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्न हजारौँको सङ्ख्यामा भक्तजनको भीड लागेको छ । मोदीखोला र कालीगण्डकी नदीको सङ्गममा पर्ने पर्वतको मोदीवेणी धाम, जैमिनी घाट, विश्वकै ठूलो शालिग्राम शिला रहेको दक्षिण पर्वतको शालिग्रामस्थित सेतीवेणी, गोपाङघाट, पुर्तिघाट, जैमिनीघाटलगायतका स्थानमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।
स्नान गर्नका लागि पर्वतका साथै बागलुङ, स्याङ्जा, गुल्मी, पाल्पा र भैरहवा तथा भारतबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु झक्तजन आएका छन् । उक्त स्थानमा मेलासमेत लागेको छ । कालीगण्डकीमा स्नान गरी भगवान् विष्णुको अवतार मानिने शालग्रामको पूजा गरेमा पुण्य प्राप्त हुने विश्वासमा झक्तजन निराहार व्रतबसी स्नान गर्ने चलन छ ।
हरिशयनी एकादशीदेखि चौमास व्रत बसेकाले पनि सोमबार कालीगण्डकी नदीका विभिन्न स्थानमा तोरन टाँग्ने प्रचलन छ । कालीगण्डकीमा तोरन टाँग्नका लागि विभिन्न जिल्लाबाट बाजागाजा र भजनकीर्तनसहित हजारौं दर्शनार्थीको भीड लागेको मोदीवेणीधाम व्यवस्थापन समितिका सदस्य युवनाथ रेग्मीले जानकारी दिए ।
यसैबीच जिल्ला सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी दिव्यधाममा सोमबार विशेष मेला लागेको छ । दिव्यधाममा रहेका १०८ तुलसीको विवाह गर्ने कालीगण्डकीको जलाभिषेक गर्ने कार्यक्रम, कालीगण्डकीका तोरण टाँग्ने र चौमास व्रत बसेकाको व्रत समापन गर्न विभिन्न जिल्लाबाट भक्तजनको भीड लागेको मोदीवेणी धाम व्यवस्थापन समितिले जनाएको छ । रासस