arrow

रूपैठामा हिन्दु र मुस्लिम समुदायबिचको विवाद साम्य

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
janakpur-danga.JPG

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठामा दुई समुदायबिच भड्किएको साम्प्रदायिक विवाद साम्य भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा सोमबार दुवै पक्षबिच सात बुँदे सहमति भएसँगै हिन्दु र मुस्लिम समुदायबिचको विवाद साम्य भएको हो ।

छठ पर्वमा स्थानीय तेलिया पोखरीमा घाट निर्माणको विषयलाई लिएर दुई समुदायबिच भएको विवादले उग्र रूप लिँदा पटक पटक झडप हुँदै आएको थियो । स्थानीय प्रशासनको पहलमा दुवै पक्षसँग लगातार छलफल गरेपछि सोमबार सात बुँदे सहमति भएको धनुषाको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । 

तेलिया पोखरीमा मुस्लिम समुदायले गाडेको झन्डा हटाउने, पोखरी अबदेखि जनकपुरधाम उपमहानगरपालिकाको अधीनमा रहने, पोखरीको सम्पूर्ण व्यवस्थापन तथा रेखदेख एवं संरक्षण पालिकाले नै गर्ने, दुवै समुदायले एक अर्कालाई सम्मान गर्ने लगायतका विषयमा सहमति भएको बताए ।

छठ घाट निर्माण विषयमा हिन्दु र मुस्लिम समुदायबिच विवाद सुरु भएर झडपमा परिणत भएपछि गएको शनिवार दिउँसो २ बजेदेखि मङ्गलवार राति १० बजेसम्मको लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।

उनका अनुसार तेलिया पोखरी अबदेखि जनकपुरधाम उपमहानगरपालिकाको अधीनमा रहने, सो पोखरीको सम्पूर्ण व्यवस्थापन पालिकाले नै रेखदेख तथा संरक्षण गर्ने, धार्मिक सद्भाव कायम राख्ने, जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख रिता मिश्रको संयोजकत्वमा सहमति कार्यान्वयनका लागि दुई पक्षबाट चार-चार सदस्य रहने गरी समिति गठन गरिएको छ।

सात बुँदे सहमति पश्चात् प्रशासनले निषेधाज्ञा हटाउने तयारी गरेको प्रजिअ बास्तोलाले जानकारी दिए। शनिवार हिन्दु र मुस्लिम समुदायबिच सुरु भएको विवादले झडपको क्रममा दुवै समुदायबिच ढुंगामुढा हुँदा ३ प्रहरीसहित ४ जना घाइते भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ