- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। पाँच दलीय सत्ता गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक आज बस्दै छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारका अहिले २ बजे बस्ने बैठकमा वर्तमान राजनीतिक अवस्था, गठबन्धनमा रहेका दलहरूबिचको सम्बन्ध, सचिवालयको व्यवस्थापन र समिति विस्तार लगायतका विषयमा छलफल हुँदै छ।
समितिका संयोजक काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो बैठकमा गठबन्धनमा रहेका दलहरूबिचको सम्बन्ध, वर्तमान राजनीतिक अवस्थाको समीक्षासहित सचिवालय व्यवस्थापन र विस्तारका विषयमा छलफल हुने जानकारी दिए।
‘आज पहिलो बैठक हो, समसामयिक राजनीति, गठबन्धनका दलहरूबिचको सम्बन्ध, समिति विस्तार र सचिवालय व्यवस्थापन लगायतमा छलफल हुन्छ,’ संयोजक पौडेलले हाम्रा कुरासँग भने।
पाँच दलीय सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न भन्दै गत २२ कार्तिकमा समन्वय समिति बनाएको थियो।
समितिको नेतृत्व नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले प्रत्येक दुई दुई महिनामा आलोपालो गर्ने सहमति छ।
समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा भने सदस्य छैनन्। तर उनी समितिको बैठकमा सहभागी हुनेछन्। समितिमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य तोकिएका छन्।
यसै गरी काँग्रेसबाट पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीबाट माधवकुमार नेपाल, जसपाबाट उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल समितिमा सदस्य तोकिएका छन्।
काँग्रेस र जनमोर्चा बाहेकबाट अन्य एक एक जना गरी तीन जना सदस्य तोकिन बाँकी छ।