arrow

माओवादीले ललितपुरका ७१ वटै वडामा गर्‍यो सर्वसम्मत नेतृत्व चयन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ४ शनिबार
maoist-centre-pampha-bhusal.jpg

काठमाडौं । माओवादी केन्द्रले ललितपुरका ६ वटै स्थानीय तहका सबै वडामा नेतृत्व चयन गरेको छ । शनिबार भएको वडा सम्मेलनले ७१ वटा वडामा नयाँ नेतृत्व चयन गरेको माओवादीका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हरि दाहालले जानकारी दिए । 

सबै वडामा निर्विरोध रुपमा नेतृत्व चयन भएको उनले बताए । ललितपुरमा एक महानगर, दुई नगरपालिका र तीन गाउँपालिका छन् । ललितपुर महानगरपालिकामा २९, महालक्ष्मी नगरपालिकामा १०, गोदावरी नगरपालिकामा १४ वडा रहेका छन् । 

यस्तै, वाग्मती गाउँपालिकामा ७, कोन्ज्योसोम गाउँपालिकामा ५ र महाङ्काल गाउँपालिकामा ६ वटा वडा छन् ।

माओवादी केन्द्रकी स्थायी समिति सदस्य पम्फा भुसालले शनिबार ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाका विभिन्न वडामा पुगी सम्मेलनको उद्घाटन गरिन् । उनले महानगरपालिकाका वडा नं २, १४, १५, २३ र २९ तथा गोदावरीको वडा नं १४ र वडा नं ३ को सम्मेलन उद्घाटन गरिन् । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेकी माओवादी केन्द्रका नेत्री भुसालले माओवादी केन्द्रले उठाएका मुद्दाहरु राष्ट्रिय मुद्दाका रूपमा स्थापित भई संविधानमा समेटिएको उल्लेख गर्दै जनताको सच्चा साथी माओवादी केन्द्र नै  भएको दाबी गरिन् । 

माओवादी बलियो नहुँदासम्म आधारभूत जनताले अधिकार स्थापित नहुने उल्लेख गर्दै उनले भनिन्, “जनताको अधिकार रक्षा गर्नका लागि माओवादी पार्टी विसं २०६४ मा जस्तै एक नम्बरको पार्टी बन्छ ।” मन्त्री भुसालले नेपालको कम्युनिष्ट आन्दोलन र राजनीतिक आन्दोलन माओवादीले नै गरेको अब समाजवादसम्म पुग्ने आन्दोलनको नेतृत्व पनि ‘प्रचण्ड’ नेतृत्वको पार्टीले गर्ने बताइन् । 

सम्मेलनका क्रममा पार्टीका केन्द्रीय सदस्य अमृता थापाले जनताको पार्टी माओवादीबाहेक अरु हुन नसक्ने जिकिर गर्दै फेरि जनताको घरदैलोमा पुगेर सेवा गर्नुपर्नेमा जोड दिइन् । 

कार्यक्रममा अर्का केन्द्र्रीय सदस्य हरि दाहालले जनताको आधिकार स्थापित गर्न सफल माओवादी पार्टीलाई आगामी निर्वाचनमा जनताको अपार मत प्राप्त हुने विश्वास व्यक्त गरे ।

माओवादीले यही मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्दैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ