आजसम्मका राजनीतिक कमीकमजोरीहरुको सत्यतथ्य सार्वजनिक गर्न तत्पर छौं : प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
617
Shares
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सशस्त्र द्वन्द्धदेखि आजसम्मका राजनीतिक कमीकमजोरीहरुको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न प्रतिबद्ध रहेको जनाएका छन् ।
बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको पन्ध्र वर्ष पूरा भएको अवसरमा आइतबार एक सन्देश सार्वजनिक गर्दै उनले भनेका छन्,‘यो मामला सरकारको मात्र मामला नभै राज्यको मामला भएकाले आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत छौं र बाँकी काम सम्पन्न गर्न पनि प्रतिवद्ध र एकतावद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्वद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौ ।’
परिवार, घाईते, विस्थापित लगायतका पीडितहरुसँगको परामर्शमा अन्तराष्ट्रिय मापदण्डको परिपालना गर्दै, नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामी अधिवेशनमा टुंगोमा पुर्याउन र शान्ति प्रकृयाको बाँकी काम सम्पन्न गर्न आफू प्रतिवद्ध भएको पनि जनाएका छन् ।
१५ वर्षको अवधिमा नेपाली समाजका समस्याहरुलाई सम्बोधन गर्न राज्यको अग्रगामी पुनर्संरचना, लोकतन्त्रलाई संस्थागत गर्ने समावेशी समानुपातिक सहभागितामा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेको पनि उनले जनाए ।
त्यस्तैगरी ऐतिहासिक रुपमा आदिवासी जनजाति, महिला, दलित, मुस्लिम, अल्पसंख्यक तथा युवाहरुको भुमिका बढाउने प्रयत्नमा उल्लेखनीय सफलता हासिल गरेको पनि उनले सन्देशमा उल्लेख गरेका छन् ।
‘संविधानसभावाट संविधान, सोको कार्यान्वयनकानिम्ति ऐतिहासिक निर्वाचन र निर्वाचित पदाधिकारीहरुले पहिलो कार्यकाल सफलतापुर्वक सम्पन्न गर्दै अर्को निर्वाचनको तयारीमा प्रवेश गरिसकेको अवस्था छ ।
नेपाली सेनाको लोकतान्त्रिकरण र जनमुक्ति सेनाको समायोजनको काम सम्पन्न भैसकेको छ’ प्रचण्डले सन्देशमा भनेका छन् ।