arrow

सङ्घर्षशील सामाजिक पुरस्कार असफल गौतमलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
Asafal_Gautam pokhara.jpg

पोखरा । अम्बिका-भागवत फाउण्डेशनद्वारा सञ्चालित सङ्घर्षशील सामाजिक पुरस्कार असफल गौतमलाई अर्पण गरिने भएको छ ।

समाजसेवी शिवनारायण बिजुक्छेको संयोजकत्वमा देवी श्रेष्ठ, गोविन्दप्रसाद दवाडी सदस्य, फाउण्डेशन अध्यक्ष भागवत नेपाल र संरक्षक अम्बिका नेपाल पदेन सदस्य रहेको समितिले असफललाई सर्वसम्मत छनौट गरेको हो ।

हरेक दुई/दुई वर्षमा सभ्य समाज निर्माणमा सङ्घर्षरत प्रतिभालाई अर्पण गरिने पुरस्कारको राशि २५ हजार सम्मानपत्र र दोसल्ला रहेको छ ।

साहित्य, समाजसेवा र पत्रकारिताका त्रिवेणीका रुपमा साधनारत सम्मानित स्रष्टा असफल बीएड, एलएलबीका साथै राजनीतिशास्त्र र नेपाली साहित्यमा स्नातकोत्तर गरेका दर्जन कृतिका सर्जक हुन् ।

उनका सबैका सारथि संगी (२०७७), सत्तलमा सिर्जना (गजल सङग्रह-२०७१), हाइकु : आलेख र अभिलेख (इतिहास-२०७०), नेपालका भाट जातिको अध्ययन (इतिहास-२०६९), दुर्गाबहादुर शाह बाबा : व्यक्तित्व र कृतित्व (समालोचना-२०६९), बिस्कुन (समालोचना-२०६८), सिलोक बन्दै छन् (मुक्तक सङ्ग्रह-२०६७), समसामयिक तीजे गीतसङ्ग्रह (२०६७), सङ्घर्षका पाइलाहरू (सामाजिक उपन्यास-२०६६), पीपलपाते ओठ (लोकदोहोरी एल्बम-२०६१), चट्टै कम्मरमा (लोकदोहोरी एल्बम-२०६०) प्रकाशित छन् ।

झण्डै तीन दर्जन बढी कृतिका सम्पादक असफल नीदाऋ स्मृति अक्षयकोष, ऋषिराम रानाभाट स्मृति कोष, अभिभावक स्मृति अक्षयकोष २०६५ रगौरीमाया स्मृति छात्रवृत्ति कोष २०७६ का संस्थापक हुन् ।

उक्त कोषको रकमबाट साहित्य, शिक्षा र समाजसेवाका क्षेत्रमा क्रियाशील प्रतिभा तथा विपन्न छात्रछात्रालाई प्रोत्साहन गर्दै आएका छन् ।

यसअघि सर्वोत्कृष्ट लोकगायन सम्मान (२०५३), उत्कृष्ट पटकथा लेखन सम्मान (२०५९), शारदा स्वर्ण सम्मान (२०६५), साहित्य सेवा सम्मान (२०६८), अम्बिका स्वर्ण सम्मान, नटराज कला सम्मान, अपाङ्गमैत्री पवित्र सेवा सम्मान, शुक्ला साहित्य सम्मानसहित झण्डै चार दर्जन सम्मान पुरस्कारबाट विभूषित भइसकेका छन् ।

हाल मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकी र स्वतन्त्र पत्रकार संघ कास्कीको अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीको महासचिव, जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको कोषाध्यक्ष, डागर स्मृति प्रतिष्ठानको सहसचिवलगायतका संस्थाका विभिन्न भूमिकामा रहेर सङ्घर्षशील जीवन बिताइरहेका छन् ।

दुई दर्जन संघसंस्थाका आजीवन सदस्य रहेर विभिन्न क्षेत्रमा योगदान दिएका असफल २०५८ सालदेखि पोखरामा रहेर भाषा साहित्य, पत्रकारिता र समाजसेवाका क्षेत्रमा क्रियाशील छन् ।

यस्ता असल प्रतिभालाई पुरस्कृत गर्ने फाउण्डेशन शिक्षा, स्वास्थ्य, गाँस, बाँस र कपाससँग जोडिएका आधारभूत आवश्यकता परिपूर्तिमा क्रियाशील फाउण्डेशनले समय-समयमा सहयोग हस्तान्तरण, निःशुल्क स्वास्थ्य तथा आँखा शिविर सञ्चालन गर्दै आएको फाउण्डेशनकी सचिव देवी श्रेष्ठले जानकारी दिइन् ।

फाउण्डेशनले शान्ति माध्यमिक विद्यालय अर्मलाका ८ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति व्यवस्था, कोरोना महामारीमा परेका विपन्न परिवारलाई खाद्यान्न, स्वास्थ्य सामग्री, दुवै मृगौला पीडित वरुण विकलाई आर्थिक सहयोग प्रदान गरेको र हालसम्म दुई हजार बढी सीमान्तकृत समुदाय लाभान्वित भएको फाउण्डेशनकी कोषाध्यक्ष माधवी नेपाल थापाले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ