- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । यतिबेला चितवनको राजनीतिक सरगर्मी निकै बढेको छ । एकातिर नेकपा एमाले १० औं महाधिवेशनको अन्तिम चरणमा छ । एमाले महाधिवेशन मंसिर १० गतेदेखि हुँदैछ । आयोजक कमिटी द्रूत गतिले तयारीमा लागेको छ ।
अर्कातिर एमालेले चितवनमै महाधिवेशन गर्ने भएदेखि छट्पटाएको नेकपा माओवादी केन्द्र पनि चुप लागेर नबस्ने रणनीतिमा देखिएको छ । चितवन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावी क्षेत्र हो । पहिले बुटबलमा महाधिवेशन तय गर्ने लगभग पक्का भएको एमालेले प्रचण्डको ‘सेखी’ झार्ने नाममा चितवनमै महाधिवेशन गर्न लाग्दैछ ।
फेरि माओवादीका प्रभावशाली नेता रामबहादुर थापा बादल एमालेमा आएपछि उनकै जोडबलले चितवनमै एमाले महाधिवेशन हुन लागेको हो । सशस्त्र द्धन्द्धका नाइके प्रचण्ड चुप लागेर बस्ने कुरै भएन ।
प्रचण्डले एमालेको महाधिवेशनको पूर्वसन्ध्यामा आफ्नो शक्ति प्रदर्शनको छनक देखाउँदैछन् । सोही संकेत अनुरुप आज चितवनमा विकास बहस कार्यक्रम आयोजना हुँदैछ । प्रचण्ड पुत्री रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकाको आयोजनामा ‘समृद्ध भरतपुरको लागि विकास बहस’ कार्यक्रम हुन लागेको हो ।
यो कार्यक्रम केवल विकास बहसमात्र नभएर माओवादीले एमालेमाथि देखाएको एक शक्ति प्रदर्शनका रुपमा बुझिएको छ । माध्यम फरक भए पनि उद्धेश्य उही भएको राजनीतिक विष्लेषकहरुको बुझाइ छ ।
उक्त बहस कार्यक्रममा संघीय सरकार र बागमती प्रदेशका समेत गरी सात जना मन्त्रीहरु सहभागी भएर विकासबारे मन्थन गर्नेछन् । उक्त बहस कार्यक्रममा सत्ता गठबन्धनका मन्त्रीहरुसमेत हुनेछन् । अर्थात् माओवादीका तर्फबाट भएका मात्र नभई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुसमेत सहभागी हुनेछन् ।
उक्त बहसमा अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, बिना विभागीयमन्त्री उमेश श्रेष्ठ र बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री कृष्ण खनाल सहभागी हुँदैछन् ।
बहसमा सरोकारवाला मन्त्रालयका सचिवहरुसमेत सहभागी हुँदैछन् ।
प्रचण्डले समग्र चितवनको विकासका लागि सबै मन्त्रीहरु, सचिवहरु र सम्बन्धित निकायका अधिकारीहरुलाई भेलामा बोलाएको भए पनि ‘टसल’ भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रहेको संकेत गरेका छन् ।
२०७५ साल जेठ ३ गते एमालेसँग माओवादीको एकता भए पनि सर्वोच्च अदालतले एकतालाई अवैध घोषणा गरेपछि माओवादी एमाले गत वर्ष फागुन २३ गते छुट्टिएका थिए ।
केपी ओलीले संसद विघटन गरेदेखि नै प्रचण्ड र ओलीबीचको सम्बन्ध देखिने गरी नै चिसिएको थियो । चितवनको महाधिवेशन र विकास बहसपछि कम्युनिष्ट राजनीतिमा कसको घडीको सुईले कसलाई कता लैजाने हो उक्त विषयको निर्णय समयले नै गर्नेछ ।