- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। निर्वाचन आयोगले यही मङ्सिर १७ गतेबाट मतदाता नामावलीमा नाम दर्ता सुरु गर्ने भएको छ। यस पटक आयोगले मतदाता नामावली सङ्कलन कार्यलाई अभियानकै रूपमा सञ्चालन गर्ने भएको हो।
निर्वाचन आयोगले मतदाता नामावली ऐन, २०७३ बमोजिम ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय तथा विभिन्न ४० वटा इलाका प्रशासन कार्यालयबाट नियमित रूपमा मतदाता नामावली सङ्कलन गर्दै आएको थियो।
तर यस पटक भने आयोगले मतदाता नामावली सङ्कलनलाई अभियानकै रूपमा अघि बढाउने निर्णय गर्दै ती कार्यालय रहेका स्थानीय तह बाहेकका ६३७ वटा स्थानीय तहको केन्द्रमा समेत मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन गर्ने भएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए।
आयोगले नामावली सङ्कलन खुला गरेसँगै उमेर पुगेका र मतदाता नामावलीमा नाम समावेश गर्न छुटेका आम नागरिकले नाम दर्ता गर्न सक्ने आयोगले जनाएको छ।
यो अभियान हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेश तथा काठमाडौँ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ।
नामावली सङ्कलन कार्य हरेक जिल्लामा दुई चरणमा सञ्चालन हुने भएकोले सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न सकिने आयोगले जनाएको छ।
नामावली सङ्कलन अभियानमा १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूको नाम मतदाता नामावलीमा समावेश गरिनेछ।
यसअघि आफ्नो स्थायी ठेगाना रहेको जिल्ला स्थित निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गर्न मिल्ने व्यवस्था रहेकोमा विभिन्न रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्ला बाहिर रहेका नागरिकहरूलाई समेत सहज रूपमा नाम दर्ता प्रक्रियामा सहभागी गराउन १७ गतेदेखि निरन्तर रूपमा सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लामा स्थायी ठेगाना रहेका नागरिकहरूको समेत मतदाता नामावली दर्ता गर्न सक्ने आयोगले जनाएको छ।
यसरी अन्य जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराएका व्यक्तिको नाम निजको स्थायी ठेगाना रहेको मतदाता नामावलीमा समावेश हुने गरी सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा पठाइने आयोगले भनेको छ।
१७ गतेदेखि सुरु हुने मतदाता नामावली सङ्कलन विशेष कार्यक्रममा देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुनेछन्। २०७८ पौष २० गते भित्र सबै स्थानीय तहमा मतदाता नामावलीको सङ्कलन कार्य सम्पन्न भइसक्ने आयोगको लक्ष्य छ। स्थानीय तहको केन्द्रबाहेकका हकमा भने नामावली सङ्कलन सो मिति पछि पनि जारी रहनेछ।
हाल देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता कायम रहेकोमा यस कार्यक्रमबाट देशभर करिब १० लाख मतदाता थप हुने अनुमान आयोगको छ।
आयोगका प्रवक्ता पौडेलले कोभिड-१९ महामारीको कारण स्थगित हुँदै आएको नामावली सङ्कलन कार्य २०७७ पौष ५ गते र २०७८ जेठ ८ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति घोषणा भएको कारण मतदाता नामावली ऐन, २०७३ को दफा ४ बमोजिम रोक्नु परेको तर अब नियमित रूपमा सङ्कलन हुने बताए।
आयोगले २०७४ सालमा निर्वाचित स्थानीय तहका पदाधिकारीहरूको पदावधि समाप्त हुन लागेको र प्रचलित कानुनी व्यवस्था बमोजिम निकट भविष्यमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले नामावली दर्ताका लागि उमेर पुरा भएका आम सर्वसाधारणमा आग्रह गरेको हो।