- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वाग्मती । चितवनमा हुन गइरहेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा चितवनमा थप एक सय ट्राफिक प्रहरी परिचालन गरिने भएको छ ।
महाधिवेशनको उद्घाटन समारोहमा सवारीसाधनको चाप बढ्ने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय र वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो । यातायात प्रबन्ध समितिका संयोजक कृष्ण भुर्तेलका अनुसार महाधिवेशन उद्घाटनका दिन जिल्लाको यातायात व्यवस्थापनलाई सहज बनाउन थप जनशक्ति परिचालन गर्ने गरी सुरक्षा निकायसँग समन्वय भइरहेको जानकारी दिए ।
यही मङ्सिर ९ गतेदेखि नै नारायणगढ र भरतपुर क्षेत्रलाई केन्द्रित गरी थप ट्राफिक प्रहरी परिचालन गर्ने तय भएको उनले बताए । महाधिवेशनमा यातायात सहज बनाउन गृहकार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भगवान्राज थापाले बताए । जिल्लामा हाल ४० ट्राफिक प्रहरी परिचालित गरिएको छ ।
महाधिवेशनमा भाग लिन पश्चिमका जिल्लाबाट आउने सवारीसाधनलाई नवलपरासीको गैँडाकोटमा, पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बस टर्मिनललगायत ठाउँमा नारायणगढ–मुस्लिन सडक हुँदै आउने सवारीसाधनलाई नेपाल ट्रस्टको कार्यालय, पश्चिम चितवन क्षेत्रबाट आउने सवारीसाधनलाई बेलचोक क्षेत्र र वागिश्वरीमा तथा चितवनकै कालिका नगरपालिकासहितका स्थानबाट आउने सवारीसाधनलाई वीरेन्द्र क्याम्पसको नौ बिघा चौरमा व्यवस्थापन गरिँदै छ ।