arrow

घनश्याम भुसालले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ८ बुधबार
ghanashyam-bhusal.jpg
फाइल तस्बिर

काठमाडौँ। एमाले उपमहासचिव घनश्याम भुसालले पार्टीको १०औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। पार्टीको १०औँ महाधिवेशनको दुई दिनअघि भुसालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने मनस्थिति बनाएका हुन्। भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको दुई दिनपछि भुसालले पनि उम्मेदवारी दिने सङ्केतसहित अपिल जारी गरेका छन्।

रावलले अध्यक्षमा उम्मेदवारी दिने भएपछि उनी वरिष्ठ उपाध्यक्षमा झरेका हुन्। वरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेल र स्थायी समिति सदस्य सुवास नेम्वाङले पनि दाबी गरेका छन्। ओली समूह दुई खेमामा विभाजित भएका बेला भुसालको उम्मेदवारीले पोखरेललाई झन् असहज भएको छ। ‘धेरै नेता र कार्यकर्ताहरूसँग छलफल गरेर उहाँले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने भन्नु भएको छ, सम्भवतः भोलि वा त्यसपछि सार्वजनिक घोषणा गर्नुहुन्छ,’ भुसालको सचिवालय स्रोतले भन्यो।

भुसालले बुधवार ‘नेकपा एमालेको पुनरोदयका लागि दशौँ महाधिवेशनका समस्त प्रतिनिधि समक्ष मेरो अपिल’ शीर्षकमा अपिल सार्वजनिक गरेका छन्। भुसालले मूलभूत सैद्धान्तिक दिशाका हिसाबले नेकपा एमाले ठिक ठाउँमा रहेको भन्दै सङ्गठनका हिसाबले नेकपा एमालेको अर्को कुनै जोडा नभएको दाबी गरेका छन्।

‘इतिहासको गौरव र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठाका हिसाबले पनि हामी अतुलनीय छौँ। समाज र राजनीतिका विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका यसका सदस्यहरूका आधारमा हेर्दा पनि नेकपा एमाले मुलुककै नेता पार्टी हो। तर, माथि उल्लेख गरिएझैँ, आजको ठोस कार्यक्रम र त्यस कार्यक्रमलाई कार्यान्वयन गर्ने सङ्गठनात्मक व्यवस्थामा असङ्गतिहरू छन् ,’ भुसालले जारी गरेको अपिलमा भनिएको छ।

नेकपा एमालेको पुनरोदयका लागि दशौँ महाधिवेशनका समस्त प्रतिनिधि समक्ष  मेरो अपिल
मुलुकको नजर हामीमाथि छ 

नेकपा एमालेका लाखौँ सदस्यले विभाजनको पीडा र गुटबन्दीको नशाबाट हाम्रो पार्टी ब्युँझन्छ र धुलो टकटक्याउँदै फेरि उठ्छ, विचार तथा सिद्धान्तको आधारमा अझ बढी एकताबद्ध भएर फेरि उठ्छ भन्ने भरोसाकारसाथ दशौँ राष्ट्रिय महाधिवेशनतर्फ हेरिरहेका छन् । यसका समर्थक र शुभचिन्तकहरूले मुलुकको नेतृत्व गर्न सक्ने पार्टीको रूपमा नेकपा एमालेको पुनरोदयको विश्वास गरेका छन् । आफैले गरेका बाचा पूरा नगरेर मुलुकको भविष्यप्रति संवेदनहीन हुँदै गएको भनेर हामीलाई दुत्कार्ने बौद्धिकहरूको ठुलो सङ्ख्या पनि आलोचनात्मक आग्रहका साथ हामीसँग आशावादी छ । अन्य पार्टीमा रहेर पनि नेकपा एमाले मुलुकको भरपर्दो शक्तिका रूपमा पुनर्स्थापित हुँदा आफ्नै भविष्य सुरक्षित देख्ने ठुलो जनमतका आँखा पनि हामी तिरै छन् । कम्युनिस्ट आन्दोलनको इतिहासको निर्माणमा रगत पसिना बगाएका समस्त अग्रजहरूको विरासतले पनि हामीसँग अपेक्षा गरेको छ ।हाम्रा सफलतामा गौरव गर्ने र हाम्रा असफलतामा दुखी हुने दुनियाँ भरीका कम्युनिस्ट, प्रगतिशील, वामपन्थी तथा सामाजिक न्याय र समानताको पक्षधरहरूले हामी फेरि उठेको र सफल हुँदै अगाडि बढेको देख्न चाहन्छन् ।सङ्क्षेपमा, मुलुक र दुनियाँले केही भरोसा, केही विश्वास र केही आशाका साथ हामीलाई हेरिरहेको छ । 

सङ्कट गहिरिँदै छ
सत्तरी वर्षदेखि नेपालको सपना लोकतान्त्रिक स्थिरता हो । तर हामीले या त अस्थिरता या निरङ्कुशता पायौँ । करिब चार वर्ष अगाडि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धन, निर्वाचनमा असाधारण विजय, बहुमतको कम्युनिस्ट सरकार, पार्टी एकीकरणजस्ता एकपछि अर्को घटनाले नेपाली राजनीतिमा नयाँ आशा र विश्वास जगाएको थियो । लोकतान्त्रिक स्थिरता, आर्थिक विकास, सामाजिक न्याय र समानतासहित मुलुकले नयाँ युगमा पाइला टेक्न सक्ने भएको थियो । तर गएको एक वर्षकै समयमा हामी आफैले कम्युनिस्ट पार्टीको बहुमतको संसद् विघटन गर्‍यौँ, एकीकृत पार्टी विभाजित गर्‍यौँ, सङ्घीय र प्रादेशिक सरकारहरू भत्कायौँ, नेकपा एमालेको एकतासमेत बचाउन सकेनौँ र अहिले हामी आफै राजनीतिक घेराबन्दीमा परेका छौँ । सबै राजनीतिक पार्टीहरू स्वार्थ केन्द्रित गुटबन्दीको भुँवरीमा फस्दै गएको, संसद् राजनीतिक खिचातानीको सिकार भएको, अदालतमा बिचौलियाको नियन्त्रणको पोल खुल्दै जाँदा न्याय व्यवस्था अस्तव्यस्त भएको हुँदा राज्य कमजोर हुँदै गएको छ र लोकतान्त्रिक स्थिरतामाथि खतरामा पर्न थालेको छ । क्रान्तिको एउटा मुख्य शक्तिका हैसियतले यो सङ्कट हाम्रो आफ्नै सङ्कट हो ।

सिद्धान्तलाई अवमूल्यन नगरौँ 
अगणित पुर्खाहरूले खाएका ठक्कर र पाएका उपलब्धिको लेखाजोखा नै सिद्धान्त हो । त्यसैले क्रान्तिको पहिलो ग्यारेन्टी पनि सिद्धान्त हो : जसले हामीलाई भविष्यको बाटो देखाउँछ र गल्ती गर्नबाट जोगाउँछ । क्रान्तिका जतिसुकै राम्रा नारा लगाए पनि सिद्धान्तहीन राजनीति केवल स्वार्थहरूको प्रतिस्पर्धा बन्न जान्छ । जसरी पनि जित्ने प्रतिस्पर्धामा जसले जिते पनि राजनीति बिग्रन्छ, मुलुकले दुख पाउँछ । त्यस्तो राजनीति राज्य दोहन गर्ने थैली शाही गुटहरूको खेलमैदान बन्छ।

दलाल पुँजीवाद र भद्दा सांसदवादले पार्टीलाई ती गुटहरूको खेलौना बनाउँछ । एउटा कमरेड अर्को कमरेडसँग तर्सिन्छ, एउटा कमरेडले अर्को कमरेडको खुट्टा तान्छ र अन्त्यता सबै सबैसँग तर्सिने र सबैले सबैको खुट्टा तान्ने अवस्था आउँछ । र, पार्टी र राजनीति झन् झन् सङ्कटग्रस्त हुँदै जान्छन् । हाम्रो पछिल्लो राजनीतिलाई नै हेरौँ, नेपाली काङ्ग्रेसले पाएको बहुमतले मुलुकलाई के दियो ? नेकपा माओवादीले संविधानसभामा पाएको असाधारण जित किन पानीको फोका भयो ? नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गरेको दिग्विजय किन भताभुङ्ग भयो? यस्ता प्रश्नको जवाफ केवल कुनै व्यक्ति वा तिनका गुटका दाबीमा होइन बरु कस्तो सिद्धान्त भएका पार्टीले त्यस्ता व्यक्ति वा गुट जन्माउँछन् र समाजले क्षति ब्यहोर्छ भनेर खोज्नु पर्छ ।

हरेक नयाँ चरणमा समाजले नयाँ सिद्धान्त खोज्छ । सामन्ती शासनको ठाउँमा कस्तो प्रजातन्त्र भन्ने अलमललाई पुष्पलालको नयाँ जनवादले बाटो देखायो । हामी आफैले ल्याएको २०४७ सालको प्रजातन्त्रसँग कसरी अगाडि बढ्ने भन्ने अन्यमनस्कतालाई सामना गर्न कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवाद ल्याए । २०६२-६३ को जनक्रान्तिलाई कसरी हेर्ने भन्ने सैद्धान्तिक अन्योललाई हामीले, नवौँ महाधिवेशनले हटायो । नेपाली समाज पुँजीवादी भएको, जनवादी क्रान्ति सम्पन्न भैसकेको, त्यसैले नेपाली क्रान्तिले समाजवादको बाटो लिएको तर पुँजीवादको मुख्य चरित्र दलाल रहेको हुँदा राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्नु नेपाली कम्युनिस्टहरूको ऐतिहासिक कार्यभार हो भन्ने सैद्धान्तिक निष्कर्ष हाम्रो आन्दोलनको ऐतिहासिक उपलब्धि हो । स्मरण रहोस्, त्यही निष्कर्षका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता सम्भव भएको थियो । तर त्यस कार्यभारलाई कार्यक्रमको रूपमा व्याख्या गर्न नसक्दा हाम्रो कम्युनिस्ट आन्दोलन सैद्धान्तिक रूपले नवौँ महाधिवेशनभन्दा अघि बढ्न सकेको छैन । सङ्क्षेपमा, सिद्धान्तले हामीलाई अगाडि बढाउँछ, सिद्धान्तहीनताले फुटाउँछ, कमजोर बनाउँछ ।



नयाँ