- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा अहिलेसम्म कोरोना भाइरसको नयाँ रुप ओमिक्रोन देखापरेको पुष्टि नभएको बताए । उनले नेपालमा अहिलेसम्म नदेखिए पनि फैलने भने सम्भावना रहेको जानकारी दिए ।
“नेपालमा पनि उक्त भाइरस फैलिने सम्भावना उच्च रहेको छ”, सहप्रवक्ता डा अधिकारीले भने, “तर हामी फैलिन नदिनका लागि तयारी अवस्थामा रहेका छौँ ।”
उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकामा रहेका सहायता कक्षले विदेशबाट आउने व्यक्तिमा ओमिक्रोन भाइरसको सङ्क्रमण छ वा छैन भनेर निगरानीलाई तीव्र पारेको छ ।
यस्तै विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने गरिएको र ती व्यक्तिमा कस्तो लक्षण देखिएको छ, सोको पनि निगरानी गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए ।
ओमिक्रोन भाइरस नयाँ भएकाले यो कति द्रूत गतिमा फैलिन सक्दछ र यसले कस्तो असर पार्दछ भनेर अध्ययन हुन बाँकीे छ । अमेरिकाले यसका लागि कम्तीमा दुई साता लाग्ने बताएको छ ।
तर १५ राष्ट्रमा द्रूत गतिमा फैलिइरहेको हो भेरियन्ट निकै नै खतरनाक भएको बताइन्छ । तर नेपालले भने खासै सावधानी अपनाएको पाइँदैन । यसअघि पनि सावधान हुन नसकेको नेपालमा यो भेरियन्ट छिट्टै भित्रिने अनुमान भइरहेको छ ।
विदेशबाट आउने फ्लाइटमा सचेतना अपनाउन नसकेपछि यसको फैलावट निश्चित जस्तै छ । कयौं देशहरुले विभिन्न प्रतिबन्ध थालिसकेका छन् ।