दलहरुको महाधिवेशन आगामी चुनावको तयारी जस्तै – प्रचण्ड
नारायण वली,
प्रकाशित २०७८ मंसिर १४ मंगलबार
744
Shares
रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न राजनीतिक दलहरुका सञ्चालन हुँदै आएका महाधिवेशन आगामी चुनावको तयारी जस्तै भएको बताएका छन् । एक हप्ता अगाडि जनयुद्धका क्रममा घाइते तथा अपाङ्ग भएकाहरुले राखेको प्रदेश स्तरीय कार्यक्रम दाङको भालुवाङबाट कार्यक्रम सकाएर फर्किने क्रममा घर नजिकै दुर्घटनामा परी ज्यान गुमाएका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज रामप्रसाद बञ्जाडे टंकमणिको मंगलबार बुटवलको जितगढीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
अप्ठेरो परिस्थितिमा रहेको देशलाई नयाँ ढंगले अगाडि बढाउने ध्येयमा आफूहरु लागिपरिरहेकोसमेत उनले जनाए । स्व. टंकमणिले थालेको शहीद स्मृति पार्कको निर्माण, पार्कभित्र टंकमणिको शालिक र टंकमणिको बारेमा स्मारिका प्रकाशन गर्न जिल्ला र प्रदेशलाई निर्देशन दिएका थिए । त्यसमा आफूले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा माओवादीका केन्द्रका नेताहरु चक्रपाणी खनाल (बलदेव), पार्टीका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पुर्णबहादुर घर्ती, सुदर्शन बराल, वामदेव गौतम, ईन्द्रजित थारु लगायतले शोक मन्तव्य व्यक्त गर्दै स्व. बञ्जाडेको द्धन्द्धकालीन जीवनी र सरल व्यक्तित्वको स्मरण गर्दै पाठ सिक्नु पर्ने बताए ।
त्यस्तै श्रीमती खुमा बञ्जाडेले त्यागी पार्टीका लागि कटिवद्ध रुपमा होमिएका श्रीमानको मूल्यांकन पार्टीले गर्ने विश्वास व्यक्त गरेकी थिइन् ।