- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै आएका डा.गोविन्द केसीले दुई उपकुलपतिलाई तत्काल वर्खास्तको माग राखेका छन् ।
उनले सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई तत्काल बर्खास्त गर्न माग गरेका हुन ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले चिकित्सा शिक्षा ऐन र चिकित्सा शिक्षा आयोगका निर्णयहरु बारम्बार उल्लङ्घन गरेको भएकोप्रति आपत्ति जनाएका छन् ।
प्राविधिक विषय पढाउने कलेजबारे चिकित्सा शिक्षा आयोगका निर्णय अक्षरश: कार्यान्वयन गर्न उनको माग छ । सरकारले यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै सम्झौता कार्यान्वयन नगरे यथाशीघ्र आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
प्रेस विज्ञप्ति
हामीले यही असोज २१ गते मेडिकल माफियाका प्रतिनिधि तथा निजी कलेज सञ्चालक खगेन्द्र अधिकारीलाई सिटिइभीटीको उपाध्यक्षबाट बर्खास्त गर्नेलगायतका मागहरु राखेर सरकारको ध्यानाकर्षण गरेका थियौं ।
त्यस यता समेत अधिकारीले चिकित्सा शिक्षा ऐन र चिकित्सा शिक्षा आयोगका निर्णयहरु बारम्बार उल्लंघन गरेका छन् । यसबीच कानुन अनुसार सय बेडको अस्पताल नहुने नर्सिङ कलेजहरुको कार्यक्रम रोक्ने गरी सिटिइभीटीबाट निर्णय गराउन सिटिइभीटीका अध्यक्ष तथा शिक्षामन्त्रीले खेलेको भुमिका सकारात्मक छ । तर मेडिकल माफियाका प्रतिनिधि अधिकारीले अहिले विश्वविद्यालय र स्कुल तहका कार्यक्रम एउटै संस्थाले चलाउन नसक्ने ऐनको प्रावधान मिचेर स्नातक तहका कार्यक्रम चलाउने कलेजहरुमा सिटिइभीटीका स्कुल तहका कार्यक्रममा विद्यार्थी भर्ना गराउने प्रयास गर्दैछन् ।
प्राविधिक तालिमका कार्यक्रम चलाउन बनेको परिषदका उपाध्यक्षले प्रधानमन्त्री अध्यक्ष रहने तथा समग्र चिकित्सा शिक्षाको नियामक निकाय चिकित्सा शिक्षा आयोगलाई अटेर गर्दै कार्यक्रम चलाउन खोज्नु तथा मिडियामा वक्तव्यवाजी गर्नु आपत्तिजनक र सरकारकै लागि लाजमर्दो विषय हो । परिषदको अध्यक्षका हैसियतले तत्काल त्यस्तो काम रोकेर सिटिइभीटीलाई कानुनसम्मत रुपमा अघि बढाउन तथा गैरकानुनी काम गरेबापत उपाध्यक्ष अधिकारीलाई बर्खास्त गर्ने जिम्मेवारी शिक्षामन्त्रीको हुन्छ ।
केही महिना अगाडि हामीले सत्याग्रह घोषणा गरेकोमा प्रधानमन्त्री देउवाले पाँच बुँदै प्रतिबद्धता गरेपछि हामीले त्यसलाई स्थगित गरेका थियौं । तर सार्वजनिक पदमा स्वार्थको द्वन्द्व रोक्ने कानुन निर्माण तथा पदाधिकारी नियुक्तिको नयाँ मापदण्ड निर्धारण लगायतका ती प्रतिबद्धता हालसम्म पनि पूरा नभएकोमा हाम्रो गम्भीर आपत्ति छ ।
यसैबीच आवाजविहीनहरुको न्यायका लागि तथा प्रहरी र न्यायालय लगायत राज्यका हरेक निकायमा संस्थागत भएको भ्रष्टाचार, अपराधीकरण र चरम् अमानवीयता विरुद्ध संघर्षरत रुबी खानलगायत अभियन्ताहरुको संघर्षमा हाम्रो ऐक्यबद्धता छ । राज्य संयन्त्रका जिम्मेवार मानिसहरुलाई अपराधीहरुले किन्न थालेपछि कसरी पीडितका मुख थुनिन्छन् र अपराधीहरुका लागि दण्डहीनता सुनिश्चित हुन्छ भन्ने कुरा उजागर गरेका अभियन्ताहरुले ज्यानको बाजी राखेर आन्दोलन गरेका छन् । त्यसको जवाफमा सरकारले छानविन समिति बनाए पनि अहिले त्यसको प्रतिवेदन गुपचुप गरेर अपराधीहरुलाई बचाउने प्रपञ्च गरिरहेको छ । उक्त प्रतिवेदन तत्काल सार्वजनिक गरेर अपराधीहरुलाई दण्डित गर्दै हाल काठमाडौंको कठोर जाडोमा धर्नारत अभियन्ताहरुको माग पूरा गर्न पनि सरकारको ध्यानाकर्षण गराउँछौं ।
साथै सरकारले हामीसित बारम्बार गरेका सम्झौता र प्रतिबद्धता कार्यान्वयन गर्नमा ढिलासुस्ती गरेको मात्र हैन सिटिइभीटीजस्तो संस्थामा नियुक्त भएका माफिया तथा पार्टी कार्यकर्ताले खुलेआम अवैध धन्दा चलाउने प्रयास गरेका छन् । यो अवस्थामा जिम्मेवार नागरिकको हैसियतले राज्यका सबै अंगमा हुनेहरुका जवाफदेहिताका लागि हामीले निम्न मागहरु राखेका छौं । ती पूरा नभएमा कुनै पनि बेला सत्याग्रह शुरु गर्न सक्ने जानकारी गराउँछौं ।
मागहरु
१. मेडिकल माफियाका प्रतिनिधि खगेन्द्र प्रसाद अधिकारीलाई सिटिइभिटीको उपाध्यक्षबाट तत्काल बर्खास्त गरियोस् । नर्सिंगलगायतका विषय पढाउने कलेजहरुबारे चिकित्सा शिक्षा ऐनका प्रावधान तथा चिकित्सा शिक्षा आयोगका निर्णयहरु अक्षरशः कार्यान्वयन गरियोस् ।
२. बीपी प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीहरुलाई तत्काल बर्खास्त गरी न्यायिक छानविन आयोग बनाएर छानविन शुरु गरियोस् ।
३. सार्वजनिक पदमा रहनेहरुको स्वार्थको द्वन्द्व रोक्नका लागि कानुन ल्याउने तथा विश्वविद्यालय र प्रतिश्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड कार्यान्वयन गर्ने लगायत यस अगाडि हामीसितको भेटमा गरिएका सबै प्रतिबद्धताहरु पूरा गरियोस् ।
४. विसं। २०८५ देखि नेपालको मेडिकल शिक्षा गैर–नाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले त्यो नीति कार्यान्वयन सुनिश्चित गरियोस् । अब कुनै पनि निजी मेडिकल कलेज नखोल्ने नीति सार्वजनिक गरियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस शुरु भइसकेको अवस्थामा आगामी शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस शुरु गर्ने कुरालाई निश्चित गरियोस् । २०८० सालसम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था पुर्याउनुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा रहेकाले प्रदेश नं। २ र गण्डकी प्रदेशमा पनि तदारुकताका साथ त्यस्ता संस्था निर्माणलाई गति दिइयोस् । हामीसित सम्झौता भएबमोजिम इलाम वा पाँचथर, उदयपुर र डडेल्धुरा वा डोटीमा समेत सरकारी मेडिकल कलेज खोल्ने कामलाई अघि बढाइयोस् । काठमाडौं विश्वविद्यालयको आंगिक र विस्तारित कार्यक्रम रहेका कलेजहरुमा समेत चिकित्सा शिक्षा ऐन अनुसार ७५ प्रतिशत छात्रवृत्तिको प्रावधान लागू गरियोस् ।
५. यस अगाडि हामीसित भएको सबै सम्झौताहरु कार्यान्वयन गरियोस् । तीमध्ये चिकित्सा शिक्षा ऐनको संशोधन गर्दा अध्यक्ष प्रधानमन्त्री तथा सहअध्यक्ष शिक्षा र स्वास्थ्यमन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिने व्यवस्था गरियोस् ।
डा गोविन्द केसी
काठमाडौं, २०७८।८।१६
रुकुमकोट, पूर्वी रुकुम