arrow

माओवादीमा पदाधिकारीका आकांक्षी बढ्दो, महासचिवमै हानथाप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १८ शनिबार
janardan-pampha-cp.jpg

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को मंसिर २५ गते हुने प्रदेश सम्मेलनमा नयाँ नेतृत्व चयनको सबै तयारी पूरा हुँदा केन्द्रको नेतृत्वबारे नेताहरुबीच छलफल नै भएको छैन । केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्विकल्प जस्तै भए पनि अन्य पदाधिकारीबारे पनि छलफल चर्चा भएको छैन । 

पार्टी उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा को–को चयन हुने भन्ने बारेमा केही छलफल भएको छैन । ‘अहिले यो विषयमा कुनै छलफल हुँदैन,’ माओवादी केन्द्रका एक नेताले भने । संगठन विभाग प्रमुख भएका कारण यसपटक अर्थमन्त्री जनार्दन शर्माले महासचिवमा आकांक्षा राखेको स्रोतको दाबी छ । 

वर्षमान पुन बिरामी भएर उपचारको क्रममा विदेश गएपछि अहिले शर्माका लागि सहज भएको स्रोतको दाबी छ । शर्मा एकैदिन चारदेखि चार वटा पार्टी बैठकमा सहभागी हुन थालेका छन् । फम्फा भुषाल, हरिबोल गजुरेल, शक्ति बस्नेत पनि महासचिवमा आकांक्षा राखेको भए पनि उनीहरुले मुख खोल्न सकेका छैनन् । 

नारायणकाजी श्रेष्ठले प्रचण्डपछिको दोस्रो वरियतामा रहने जुन पद हुन्छ त्यसमै चाहना राखेका छन् । तर प्रचण्डले उनलाई मन नपराएका कारण उनको स्थानमा कृष्णबहादुर महरालाई अघि बढाउने संभावना पनि उत्तिकै रहेको छ । 
 
अहिले प्रदेश समितिमा राखिने पदाधिकारी र सदस्यका विषयमा गृहकार्य गर्न नेताहरु आ–आफ्नो प्रदेशतिर लागिसकेका कारण यो विषयमा मंसिर २३ गतेको स्थायी कमिटी बैठकपछि मात्रै छलफल हुने नेताहरुले बताएका छन् ।

प्रदेशमा माओवादी केन्द्रको भावी नेतृत्वमा क–कसलाई ल्याउने भन्ने विषयमा छलफल भइरहेकाले पनि पार्टी केन्द्रको नेतृत्वबारे कुनै छलफल नभएको हो ।  ‘अध्यक्षमा प्रचण्डको कुनै विकल्प छैन अन्य पदमा पनि प्रचण्डले रोजेकै नेतृत्व आउनेमा शंका छैन त्यसकारण धेरै रस्साकस्सी गर्नुको अर्थ छैन’, एक स्थायी समिति सदस्यले भने । 

निर्वाचन आयोग संयोजक विष्णुपुकार श्रेष्ठका अनुसार प्रदेश पदाधिकारीसहित सदस्य र निर्वाचन समिति तयारी अवस्थामा राखिएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक गरी १० प्रदेशको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुममार्फत् भर्चुअल बैठकबाट एकै पटक सम्बोधन गर्ने भएका छन् ।

‘सात भौगोलिक क्षेत्रले आ–आफ्नो प्रदेश राजधानीमा सम्मेलन गर्ने छन् । प्रवास, विशेष र सम्पर्क प्रदेशले आ–आफ्नो अनुकुलतामा सम्मेलन गर्ने छन् । ती दशवटै प्रदेशलाई अध्यक्ष प्रचण्डले आगामी शनिबार २५ गते दिउँसो १ बजे उद्घाटनपछि सम्बोधन गर्नेछन्’, श्रेष्ठले भने ।  

प्रदेश समिति पदाधिकारीसहित सदस्य सकेसम्म सर्वसम्मत गर्न निर्देशन दिएको छ । प्रदेशमा सात सदस्यीय पदाधिकारीसहित बढीमा १ सय ७५ सदस्यसम्म बनाउन सकिन्छ । पदाधिकारीमा अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, सहसचिव र एक कोषाध्यक्ष हुनेछन् ।

प्रदेश सम्मेलनमा सहमती नभए निर्वाचन गर्न सात सदस्यीय निर्वाचन समिति बनाएको श्रेष्ठले बताए । जसमा एक निर्वाचन संयोजक र अरु ६ सदस्य हुनेछन् । प्रदेश सम्मेलन सकिएलगतै पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन हुने भएको छ ।

यस्तै सम्मेलन हुन नसकेका पालिकालाई मंसिर २० गतेभित्र सक्ने निर्देशन दिएको छ । भौगोलिक ७५३ सहित गैरभौगोलिक गरी कुल ७७६ पालिकामध्ये अझै एक सय पालिका अधिवेशन हुन बाँकी रहेको श्रेष्ठले बताए । 

ती पालिकामा सर्वसम्मत नभए निर्वाचन गरेर भए पनि सम्पन्न गर्न निर्देशन दिएको छ । पालिका अधिवेशन सकिएपछि मात्रै प्रदेश सम्मेलन हुने भएको हो । साउन ३१ के विधान संशोधन गर्न पनि माओवादी केन्द्रले विधान परिमार्जन गर्न कार्यदल गठन गरेको छ । 

स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्न देव गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको हो । ५ सदस्यीय कार्यदलमा जनार्दन शर्मा, मातृका यादव, पम्फा भुषाल र लीलामणि पोखरेल सदस्य छन् । 

२५ मंसिरसम्ममा विधान मस्यौदा प्रस्ताव गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ । बैठकले १०–१३ पुसमा हुने राष्ट्रिय भेला व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरेको छ । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई केन्द्रीय प्रतिनिधिको संख्या थप्न प्रस्ताव तयार पार्ने जिम्मेवारी दिएको बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुने गरी कार्यविधि बनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ