- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रसिद्ध सीताराम विवाहपञ्चमीमा सहभागी हुने श्रद्धालुहरूलाई स्वास्थ्य मापदण्डको परिपालना गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री राउतले विवाहपञ्चमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सतर्कता अपनाउन श्रद्धालुहरूमा आग्रह गरेका हुन् ।
विवाहपञ्चमी महोत्सवको महत्त्वपूर्ण दिन बुधबार नेपाल र भारतबाट ठुलो सङ्ख्यामा श्रद्धालुहरू जनकपुरधाम आउने भएकाले कोरोनाको जोखिम बढ्न सक्ने जोखिमलाई दृष्टिगत गरी स्वास्थ्य सतर्कता अपनाउन मुख्यमन्त्री राउतले अपिल गरेका हुन् ।
त्रेता युगमा भगवान् राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा भव्यतापूर्वक सीताराम विवाहपञ्चमी महोत्सव मनाउँदै आइएको छ । विवाहपञ्चमीका अवसरमा प्रदेश २ सरकारले मङ्सिर २२ गते बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
यस्तै, जनकपुरधाम उपमहानगरपालिकाले विवाहपञ्चमी महोत्सवलाई दृष्टिगत गरी नगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवको उपलक्ष्यमा मङ्गलवारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिए।
विवाहपञ्चमीको मेलाका कारण हुने भिडभाडलाई दृष्टिगत गर्दै पालिकाभित्र रहेका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरूलाई मङ्सिर २१ देखि २३ गतेसम्म बिदा दिने निर्णय भएको प्रमुख यादवले बताए।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय धनुषाले सीताराम विवाहपञ्चमीमा बहुमूल्य गरगहना लगाई सहभागी नहुन आग्रह गरेको छ । धनुषाका प्रजिअ बन्धुप्रसाद बास्तोलाले आज सूचना जारी गरी विवाहपञ्चमी महोत्सवमा अत्यधिक भिडभाड हुने भएकाले महँगो मूल्यका गरगहना लगाएर सहभागी नहुन आग्रह गरेका हुन् ।
भिडभाडमा जोखिमयुक्त सामानसमेत लिएर नजान आग्रह गर्दै कोरोनाको जोखिम पनि कायमै रहेकाले विवाहपञ्चमीका सहभागीलाई अनिवार्य मास्क प्रयोग गर्नसमेत प्रजिअ बास्तोलाले आग्रह गरेका छन् ।