- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । निर्वाचन आयोगले २० फागुनबाट राष्ट्रिय सभातर्फ रिक्त हुन १९ पदमा १२ माघमा निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगले मंगलबार १२ माघका लागि राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति, तालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभातर्फ रिक्त हुन गइरहेको पदमा १२ माघमा निर्वाचन तय भएको जानकारी दिएका हुन् ।उनले सो निर्वाचन प्रयोजनका लागि निर्वाचनमा भाग लिन चाहने दलहरुले आयोगमा १ पुस देखि १० पुससम्म दल दर्ता गर्न सक्ने गरी आयोगले मिति तय गरेकोसमेत जानकारी दिए। उनका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ता अनिवार्य छ।
आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ।
प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रमसमेत तय गरिएको छ।
यस्तै १८ र १९ पुसमा निवेदन तथा उजुरी उपर छानबिन र कारबाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरिएको छ।
यसैगरी २० पुसमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २२ र २३ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निणर्य गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम आयोगले तय गरेको छ।
यसैगरी २४ पुसमा उम्मेदवारले नाम फिर्ता लिने, २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र तोकिएका मतदान केन्द्रहरूमा १२ माघमा बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने कार्यक्रम छ।
यसअघि आयोगले २० फागुनमा रिक्त हुने १९ पदमा उपनिर्वाचन गर्न ७ माघको मिति प्रस्ताव गरेको थियो। राष्ट्रिय सभा कानुन अनुसार पद रिक्त हुनु ३५ दिनअघि उपनिर्वाचन गरिसक्नु पर्छ।