arrow

एमसीसी खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
mcc-maoist.PNG

काठमाडौं । कर्णजित बुढाथोकी नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र समाजवादीले एमसीसी खारेज गर्नका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मङ्गलवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजवादीले राष्ट्रघाती एमसीसी सम्झौता लागु नगर्न जोडदार माग गर्दै जबरजस्ती सांसदबाट पास गरेमा कडा जनसङ्घर्षमा उत्रिने चेतावनी दिएको हो । 

कार्यक्रममा एमसीसी सम्झौता विरुद्ध जनप्रदर्शन, धर्ना, घेराउ, आमसभा सञ्चालन गर्दै आइरहेको समाजवादीले मङ्सिर २३ गतेबाट ७ वटै प्रदेशमा लाखौँ जनताको हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको जानकारी दिएको हो । समाजवादीले हस्ताक्षर कार्यक्रम सफल पार्न सम्पूर्ण राजनीतिक दल,नागरिक समाज, आम नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ । 

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कर्णजित बुढाथोकीले नेपाल र नेपाली जनताको हितमा एमसीसी सम्झौता नभएको स्पष्ट पारे । उनले सम्झौता नेपालको परराष्ट्र नीतिको विरुद्धमा भएको पनि जिकिर गरे । नेपालमा मात्र अमेरिकी ७२ वटा आइएनजिओ भएको भन्दै उनीहरूको बारेमा आफूहरूले विरोध नगरेको पनि बताए ।
 
‘डिसेम्बर १४ मा अमेरिकामा एमसीसी सम्बन्धी बैठक हुने जानकारी दिँदै उनले भने, ‘डिसेम्बर १४ मा अमेरिकामा एमसीसी सम्बन्धी बैठक हुँदै छ र नेपालमा पनि सोही दिन संसद्को अधिवेशन हुँदै छ । यही विषयलाई लिएर अमेरिकामा र नेपालमा जुन बहस हुँदै छ यसैलाई आधार बनाएर देशका सच्चा नेपालीहरू र राजनीतिक दलका नेताहरू समयमै ऐतिहासिक पहलकदमीमा अघि बढ्नुपर्ने बेला भएको छ ।’ 

बुढाथोकीले भोलि हुने पश्चात्तापलाई आजै महसुस गरी सम्झौता नै खारेज गर्नुपर्नेमा जोड दिए । नेपालमा एमसीसी मङ्सिर २८ गते सांसदबाट हुने पास गराउन अमेरिकी सरकारले अन्तिम अल्टिमेटम दिएको भन्दै सोही अल्टिमेटम अनुसार शेरबहादुर देउवा सरकारले २८ गते नै संसद अधिवेशन आह्वान गरेकोमा उनले आपत्ति जनाए । 

जटिल र संवेदनशील राजनीतिक घटनाक्रमलाई मध्य नजर गर्दै देउवा सरकार समक्ष राष्ट्रघाती एमसीसी सम्झौता लागु नगर्न जोडदार माग गर्नुको विकल्प नरहेको पनि उनको भनाई थियो । उनले आम जनताको तीव्र विरोध र आपत्तिको बाबजुद पनि जबरजस्ती सांसदबाट एमसीसी सम्झौता पास गराएको खण्डमा आफ्नो पार्टी कडा भन्दा कडा जनसङ्घर्षमा उत्रिन बाध्य हुने समेत चेतावनी दिए । 

उनले आफ्नो पार्टी एमसीसी पास गर्न हुन्न भन्ने लाखौँ जनताको हस्ताक्षर सङ्कलन गर्न लागेको समेत जानकारी दिए । नेपाली जनताको भविष्यको लागि र अखण्ड नेपालको रक्षार्थ लागि पनि आफूहरूले हस्ताक्षर अभियान सञ्चालन गर्न लागेको उनको भनाई थियो । नेपाली जनताको सम्मान गर्न नसक्नेले नेपालमा राजनीति गर्नुको कुनै अर्थ नहुने उनले बताए । 

नेपाली जनताको लागि कुनै पनि हिसाबले एमसीसी सम्झौता हितमा नभएको भन्दै लाखौँ जनताको हस्ताक्षर गरेर बुझाउँदा पनि मागको सुनुवाइ नभएमा आफ्नो पार्टी जे गर्न पनि तयार हुने उनले बताए । नेपालले नचाहँदै नचाहँदै पनि अफगानिस्तानको अवस्थामा पुग्न सक्ने उनको भनाई थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ