arrow

दुर्घटनामा परेको बसबाट इन्धन बरामद

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
557467235.jpeg
लहान । सिरहाको पूर्वपश्चिम सडक अन्तर्गत कर्जनहा गाविसको बगाहामा आइतबार बिहान दुर्घटनामा परेको बसबाट ठूलो परिमाणमा इन्धन बरामद भएको छ । झापाको बिर्तामोडबाट प्रहरीको सुरक्षा घेरामा काठमाडौँ जाँदै गरेको ना ४ ख ३७८८ नंको बस बिहान करिब ३ः०० बजेतिर बगहामा दुर्घटनामा परेपछि करिब १२ हजार लि पेट्रोल र डिजल बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिए । 

चौधरीका अनुसार उक्त बस पश्चिमबाट पूर्व आउँदै गरेको ना ५ख ६५९४ नंको बससँग ठोक्किँदा केही यात्रु सामान्य घाइते भएका थिए । ठोक्किएको बसलाई प्रहरी निगरानीमा राखेर बिहान खानतलासी गर्दा काठमाडौँ लैजान ग्यालेनमा राखिएको पेट्रोल र डिजल बरामद गरिएको प्रहरी नायब उपरीक्षक चौधरीले उल्लेख गरे । प्रहरीले इन्धन र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

तराई–मधेसमा जारी आन्दोलनका कारणले इन्धन आपूर्ति असहज हुँदा प्रहरीको सुरक्षा घेरामा राजधानीसहित अन्य ठाउँमा जाने सवारी साधनका सञ्चालकले सुरक्षाको जोखिम भए पनि पेट्रोल र डिजललगायत इन्धन ओसारपोसार गरिरहेको गुनासो रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ